हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जका लागि सम्झौता (एमओयू) भएको छ।
राजधानीको एक होटलमा इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र हिमालयनका तुलसीप्रसाद गौतमबीच सम्झौतामा हस्ताक्षर भएको हिमालयनका प्रवक्ता शितल कोइरालाले जानकारी दिए।
दुई महिनामै कम्पनीको एकीकृत कारोबार गर्ने लक्ष्य लिइएको उनले बताए। यसबीचमा विस्तृत रुपमा सम्पत्ति तथा दायित्वको मूल्यांकन हुनेछ।
अहिलेका दुइटा बैंक एक भएपछिको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहने भएको छ।
मर्जपछि बैंकको अध्यक्ष पृथ्वीबहादुर पाण्डे हुनेछन्। सिइओ अशोक राणा हुनेछन्। राणाको कार्यकाल सकिएपछि ज्योति पाण्डे सिइओ हुनेछन्।
अब यो बैंक बचत संकलन, व्यवसाय (कर्जा प्रवाह), चुक्ता पुँजी, जगेडा कोषका आधारमा सबैभन्दा ठूलो बैंक हुनेछ।
बैंकको कुल निक्षेप (बचत) करिब ३ खर्ब हुनेछ। चैत मसान्तसम्म हिमालयनको १ खर्ब २१ अर्ब र इन्भेष्टमेन्टको १ खर्ब ६५ अर्ब छ। त्यस्तै कुल कर्जा प्रवाह २ खर्ब ७८ अर्ब हुनेछ।
चुक्ता पुँजी २६ अर्ब ९३ करोड हुनेछ। जगेडा कोष १९ अर्ब १४ करोडको हुनेछ। चैतसम्मको वित्तीय विवरणलाई एकीकृत गर्ने हो भने प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७६ पैसा हुनेछ।