वाणिज्य बैंकहरुले ५० हजारभन्दा कम रकम जम्मा नगर्ने निर्णय गरी ५ सेवा मात्रै संचालनमा ल्याएसँगै विकास बैंकहरुले पनि स–सानो रकम जम्मा गर्नका लागि ग्राहकलाई बैंक नआउन अनुरोध गरेका छन्।
कोभिडको दोस्रो लहरले आक्रान्त बनाइरहेका बेला डेभलपमेन्ट बैंकर्स एसोसिएसनले भरसक बैंक नआउन सबै ग्राहकलाई आग्रह गरेको छ।
मुलुकमा हाल अक्सिजन, आइसियु, भेन्टिलेटर लगायतको समस्याका कारण बेड पाउने अवस्था समेत नरहेकाले सबैमा सतर्क रहन संघले आग्रह गरेको छ।
यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुलाई चुनौति थपिएको उल्लेख गर्दै संघले सानो–सानो निक्षेप जम्मा गर्नका लागि नआउन अनुरोध गरेको हो।
त्यस्तै सबैजसो विकास बैंकहरुलाई अत्यावश्यकबाहेकका काममा कर्मचारी नबोलाउन, वर्क फ्रम होमको व्यवस्था गर्न, सुरक्षाका लागि हरसम्भवका उपायहरु अवलम्वन गर्न आग्रह गरिएको संघका अध्यक्ष प्रद्युम्न पोखरेलले जानकारी दिए।
सूचना प्रबिधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि अत्यावश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउन सबै विकास बैंकहरुलाई संघले आग्रह गरेको छ।
हाल विकास बैंकहरुले पनि न्यून कर्मचारीमार्फत सीमित शाखाहरु मात्रै संचालनमा ल्याएका छन्।
यसअघि हिजो मात्रै वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले ५ सेवा मात्रै संचालनमा ल्याउने निर्णय गरेको थियो।
जसअनुसार वाणिज्य बैंकहरुबाट अब खाताबाट नगद झिक्ने, ५० हजारभन्दा बढी नगद जम्मा गर्ने, चेक/आइपिएस/आरटिजिएसमार्फत रकम स्थानान्तरण गर्ने, रेमिट्यान्स भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारसम्वन्धी सेवाहरु मात्रै प्रदान हुने भएको छ।