बिहीबार सेयर बजारको परिसूचक नेप्से १६.९७ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक २८४३ अंकमा कायम भएको छ।
यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ७ अर्ब ३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा निकै कम हो। हिजो ११ अर्ब ६१ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।
हिजो सबै समूहहरु घटेकोमा आज भने दुई समूहहरु होटल तथा पर्यटन र जलविद्युत समूहमा बहार आएको छ। होटल तथा पर्यटन समूह ४१ अंकले बढेको छ भने जलविद्युत समूह ५५ अंकले बढेको छ।
बैंकिङ ७, ब्यापार २६, विकास बैंक ७२, फाइनान्स २९, निर्जीवन बीमा १७७, उत्पादन ४१, अन्य ३०, माइक्रोफाइनान्स ४९ र जीवन बीमा समूह १४३ अंकले घटेका छन्।
यस दिन माथिल्लो तामाकोसीको मूल्य १० प्रतिशतले बढेको छ। सो वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ७४५ रुपैयाँ पुगेको छ। त्यसबाहेक अरु मूल्य बढ्ने कम्पनीको वृद्धिदर ३ प्रतिशतमुनि रह्यो।
समृद्धि फाइनान्स, रुरु हाइड्रो, कृषि विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, रिडी हाइड्रोपावर र ओरेन्टल होटलको मूल्य २ प्रतिशतले बढेको छ।
ङादी ग्रुप पावरको मूल्य सबैभन्दा धेरै ५.३ प्रतिशतले घटेको छ। बरुण हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल इन्स्योरेन्स कम्पनीको मूल्य ४ प्रतिशत धेरैले घट्यो।
कारोबारका आधारमा यस दिन पनि नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ३७ करोड रुपैयाँको सेयर किनबेच भयो। त्यस्तै नेपाल इन्स्योरेन्सको ३५ करोडको कारोबार भयो भने माथिल्लो तामाकोसीको २८ करोड रुपैयाँ बराबरको कारोबार भयो।