मंगलबार सेयर बजारको परिसूचक नेप्से १३.८३ अंकले बढेको छ।
सो अंकको वृद्धिसँगै परिसूचक २७१२ अंकमा कायम भएको छ। कारोबार खुलेपछि उतारचढाव देखिएको परिसूचक दिउँसो ११ः ५६ मा २७६६ सम्म पुगेको थियो।
अघिल्लो दिनको तुलनामा नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार ८ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएकोमा मंगलबार ७ अर्ब ३६ करोड रुपैयाँको कारोबार भयो।
हिजो परिसूचक ११४ अंकले घट्दा कारोबार रकम बढेको थियो। तर आज परिसूचक बढ्दा कारोबार घट्नुले बजार बढेका बेला खरिद गर्नेहरु न्यून रहेको संकेत गर्छ।
यस दिन बैंकिङ ३, होटल तथा पर्यटन ७६, विकास बैंक २७, जलविद्युत २२, निर्जीवन बीमा ७२, अन्य १३, माइक्रोफाइनान्स १४, जीवन बीमा १९९ र लगानी समूह १ अंकले बढेका छन्।
ब्यापार ५०, फाइनान्स १८ र उत्पादन समूह १९ अंकले घटेका छन्। यस दिन १२२ कम्पनीको मूल्य बढेको छ भने ५४ कम्पनीको मूल्य घटेको छ। त्यस्तै ९ कम्पनीको मूल्य स्थिर रह्यो।
मनकामना स्मार्ट लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। रुरु जलविद्युत परियोजनाको मूल्य ५.७, निफ्राको ५.६, लाइफ इन्स्योरेन्स कम्पनीको ४.२ प्रतिशतले मूल्य बढ्यो। निफ्राले गत आवसम्मको नाफाबाट ८.५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ।
एक्सल डेभलपमेन्ट बैंकको मूल्य ३.४ प्रतिशतले घट्यो भने जानाकी फाइनान्सको मूल्य ३.२ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको २५ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भयो। नबिल बैंक, निफ्रा, हिमालयन डिस्टिलरी र अपि पावर पनि कारोबारका आधारमा अगाडि रहे।