भोलिदेखि चार दिन सेयर बजार बन्द हुने भएको छ। यो शुक्रबारदेखि आउँदो सोमबारसम्म सार्वजनिक बिदा परेको हुँदा बजार बन्द हुने भएको हो।
सरकारले शुक्रबार निर्वाचनको लागि सार्वजनिक बिदा दिएको छ। भोलिपल्ट अर्थात् वैशाख ३१ गते शनिबार परेको छ भने जेठ १ गते आइतबार पनि सार्वजनिक बिदा घोषणा गरिएको छ।
जेठ २ गते सोमबार बुद्ध जयन्तीको अवसरमा पनि सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ। यसर्थ, आज (बिहीबार) पछि नेप्से एकैचोटी आउँदो साताको मंगलबार अर्थात् जेठ ३ गते मात्रै खुल्नेछ।
हाल बजारमा उतारचढाव देखिए पनि धेरैको अपेक्षा चुनाव पछि बजार बढ्न सक्छ भन्ने छ। यसबारे नेपाल ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनाली भन्छन्, 'बजारले कुन गति लिन्छ भन्ने ठ्याक्कै भन्न सकिन्न तर अहिले चुनावका कारण गाउँ-गाउँमा भइरहेको खर्च चुनावपछि बैंकिङ प्रणालीमा आउने र आर्थिक वर्ष सकिन लागेकाले सरकारी खर्च पनि बढ्ने भएकोले यसको बजारमा सकारात्मक प्रावभ पर्छ कि भन्ने हो।'
उनले थप भने, 'त्यस्तै, आयातमा गरिएको कडाइको प्रभाव पनि अब बिस्तारै अर्थतन्त्रमा देखिन थाल्छ।' आयातमा गरिएको कडाइले आयातमा जाने कर्जा कम हुने, निक्षेप र कर्जाको अनुपातमा हाल देखिएको दबाब सहज हुने, र विदेशी मुद्रा सञ्चितीमा हाल भइरहेको ह्रासमा कमि आएर मुलुकको आर्थिक अवस्थामा पनि सुधार आउने उनको अपेक्षा छ।
मैनालीको जस्तै तर्क गर्छिन्, नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी। 'अहिले हामी लगानीकर्ताहरू आशावादी छौं,' उनले भनिन्, 'बजार तल्लो तहमा आएकोले अहिले लगानी गर्ने बेला समेत भएको छ। यही कारण बजार केही समय बढ्न सक्छ।'