गत साता चार दिन खुलेको बजारमा नेप्सेले १ सय १५.३३ अंक गुमाएको छ। कारोबार रकममा पनि उच्च दरमा गिरावट आएको छ।
अघिल्लो साता दैनिक औसत १ अर्ब ७१ करोड रूपैयाँको कारोबार भएको बजारमा गत साता भने १ अर्ब ९ लाख रूपैयाँको मात्रै कारोबार भएको हो। औसत दैनिक कारोबार रकममा २४ प्रतिशतले कटौती भएको हो। अघिल्लो साता ५ दिन खुलेको बजारमा कुल ८ अर्ब ५६ करोडको कारोबार भएकोमा गत साता ५ अर्ब २० करोड रूपैयाँको कारोबार भएको छ। गत साता चार दिन बजार खुलेको थियो।
निर्वाचनपछि पनि बैकिङ प्रणालीमा खासै पुँजी नभित्रिएकोले पनि कर्जा अझै सहज हुन सकेको छैन। थप कर्जा प्राप्त गर्न असहज भइरहेको समयमा बैंकहरूले आर्थिक वर्ष अन्त्य हुन लागेसँगै कर्जा असुलीमा जोड दिन थालेका छन्। यसले पनि बजारमा दबाब परेको छ। सेयर धितो राखेर कर्जा लिएकाहरूलाई समेत मूल्यमा आएको गिरावटको कारण धितो बढाउनुपर्ने दबाब रहेको ब्रोकरहरू बताउँछन्।
त्यस्तै, वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदरमा वृद्धि नगरे पनि विकास बैंकहरूले निक्षेपको ब्याजदर एक प्रतिशत विन्दुसम्म वृद्धि गरेर १२ प्रतिशत माथि तोकेका छन्। रेमिटेन्स खातामा १३.५ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन्।
रेखा चित्र अनुसार २२ वैशाखमा २२३८ मा टेवा पाएको नेप्सेले हाल आइपुगेको विन्दु २२३५ आसपासमा फेरि पनि टेवा परीक्षण गर्नेछ। यो विन्दुमा टेवा पाएर बढेमा भने यसमा अंग्रेजी अक्षरको ‘डब्लू’ आकृति बन्नेछ। यो आकृतिले केही समय नेप्सेमा वृद्धि देखिन सक्ने संकेत गर्छ। यो बिन्दुमा टेवा पाएन भने बजार थप ओरालो लाग्नेछ।
प्राविधिक विश्लेषण:
गत साता नेप्सेले पहिलो दिन लामो कालो (रातो) मैनबत्ती आकृति बनायो, दोस्रो दिन २२३८ सम्म पुगेर फर्कने प्रयासमा समेत देखियो। तर, त्यसपछिका दुवै दिन बजार घट्यो र कालो मैनबत्ती बनेको छ। अन्तिम दिन बनेको कालो मैनबत्तीको न्यून विन्दुले २२३८ कटेर ओर्लिएको भए पनि पछि केही अंक जोडेको छ। पछिल्ला दुई दिनको प्रवृत्तिले बजार केही दिन थप घट्ने संकेत भने गरिरहेको छ। तत्काललाई 'पर्ख र हेर'को स्थितिमा रहनु लाभदायक हुन्छ। साथमा रकम हुनेले भने क्रमिक रुपमा सेयर खरिददारी बढाउन सक्छन्।
नेप्सेको रेखा चित्रमा बनाइएको ७ दिने र २१ दिने मुभिङ एभरेज विश्लेषणको आधारमा भने बजार अहिले पनि वियरिश (घट्दो) प्रवृत्तिमै छ। अहिले पनि २१ दिने मुभिङ एभरेज रेखा ७ दिनेभन्दा माथि छ। तर, ७ दिने रेखामाथि लाग्ने प्रयासमा भने छ। ७ दिने रेखा माथि लाग्ने क्रममा २१ दिने रेखालाई काटेमा बुलिश (बढ्ने) प्रवृत्ति सुरू हुने मानिन्छ।
यस साताको पिभट विश्लेषण अनुसार अन्तिम दिन घटेको नेप्सेले आगामी साता २ हजार १ सय ९४ मा पहिलो टेवा पाउने र त्यहाँबाट बजार बढ्न थालेमा भने २ हजार ३ सय १३ मा पहिलो प्रतिरोध परीक्षण गर्नेछ।