रिभर फल्स पावरको आइपिओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले सोमबार आइपिओ बाँडफाँट गरेको हो।
रिभर फल्स पावर लिमिटेडले गत वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको थियो। कम्पनीले २७ लाख ३० हजार कित्ता सेयर जारी गरेको थियो।
यसमध्ये कम्पनीले २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कम्पनीको कर्मचारीहरूको लागि र ५ प्रतिशत अर्थात् एक लाख ३६ हजार पाँच सय कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याएको थियो। यीबाहेक बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणको लागि जारी भएको हो।
कम्पनीका अनुसार आइपिओमा १८ लाख ५ हजार ४४० जना आवेदकले दुई करोड १ लाख ९५ हजार ९१० कित्ता सेयरका लागि आवेदन दिएका थिए। यो भनेको ७.९५ गुणाले मागभन्दा बढी आवदेन परेको हो।
कम्पनीको आइपिओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट २ लाख ५३ हजार ८९० जनालाई १० कित्ताका दरले बाँडफाँट गरिएको हो। बाँकी १५ लाख ५१ हजार ५५० जनाको भने रित्तो हात छ।
आवेदकमध्ये ३ हजार ८१९ जनाको आवेदन रद्द भएको छ, जसले ४७ हजार ६०० कित्ताको लागि आइपिओ भरेका थिए।
रिभर फल्स पावरको आइपिओ नतिजा सिडिएससी आइपिओ रिजल्ट, प्रभु क्यापिटल र मेरो सेयरबाट हेर्न सकिन्छ।
आइपिओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले कम्पनीलाई इक्रा एनपी आइआर डबल बी माइनस रेटिङ दिएको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने जोखिम मध्यम रहेको संकेत गर्छ।
हाल कम्पनीको चुक्ता पुँजी ३५ करोड ७० लाख रूपैयाँ रहेको छ। कम्पनीले १०.३० मेगावाटको पिलुवा खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ। वि.सं २१०५ सम्म सञ्चालन अनुमति पाएको आयोजनाको विद्युत खरिद सम्झौता भइसकेको छ।
एक अर्ब ८६ करोड रूपैयाँमा बन्ने यस आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ६ लाख रूपैयाँ छ। कम्पनीले यही असार मसान्तमा विद्युत उत्पादन गर्न सक्ने उल्लेख गरेको छ।
हाल कम्पनी पाँच करोड २० लाख रूपैयाँ सञ्चित नोक्सानमा छ। आगामी आवबाट यस्तो नोक्सान नाफामा परिणत हुने बताइएको छ। कम्पनीको लागत करिब १० वर्षमा उठिसक्ने र ब्रेक इभनमा पुग्ने अनुमान गरिएको छ।