एनआइसी एसिया बैंकले मुद्दती खातामा दोब्बरदेखि १० गुणासम्म निक्षेप उपलब्ध गराउने योजना ल्याएको छ। यो योजनामा कुनै ग्राहकले खातामा २ लाख रूपैयाँ छ भने निश्चित समयमा ४ लाखदेखि २० लाख रूपैयाँसम्म निक्षेप फिर्ता पाउन सक्नेछन्।
बैंकले 'एनआइसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना' सार्वजनिक गरेको हो। यस्तो योजना मुलुकको कुनै पनि बैंक तथा वित्तीय संस्थाले अहिलेसम्म उपलब्ध गराउन नसकेको बैंकको दाबी छ।
एनआइसी एसिया बैंकले यही २०७९ असार १२ गतेदेखि सो योजना ग्राहक समक्ष ल्याएको हो। जसमा सर्वाधिक उच्च ब्याजदरसहित निक्षेप रकमको १० गुणा रकम फिर्ता पाइनेछ। यो योजना यही असार महिनाभरीका लागि लागू हुनेछ।
'हामीले हाम्रा ग्राहकको अधिकतम फाइदाको लागि भनेर यो योजना ल्याएका हौं,' एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले भने, 'यो योजनामा ग्राहकले उच्च प्रतिफल पाउन सक्नुहुन्छ।'
यस्तो योजना नेपालको बैंकिङ क्षेत्रमा अहिलेसम्म कसैले पनि नल्याएको न्यौपानेले बताए। उच्च प्रतिफलको योजना भएकाले अहिलेको लागि असार महिनाभरीका लागि मात्र ल्याएको उनको भनाइ छ।
यो योजना ल्याउनु अघि एनआइसी एसिया बैंकले आमजनताको बैंकिङ आवश्यकता र अपेक्षालाई पहिचान गरेर बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गरेको थियो।
त्यही अध्ययनका आधारमा बैंकले निक्षेप योजनाहरूलाई निरन्तर थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरू सुनिश्चित गर्न यो योजना ल्याएको जनाएको छ।
बैंकले आफ्नो नीति तथा रणनीतिअनुसार यसअघि ल्याएको निक्षेप खाताहरूमा पाइने फाइदाभन्दा अझसम्म फाइदाहरू रहेको मौज्दातको रकममा १० गुणा रकम फिर्ता हुने 'सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना' ल्याइएको हो। बैंकले यो योजना व्यक्तिगत ग्राहक, संस्थागत ग्राहक र रेमिटेन्स आय भएका ग्राहकको लागि भनेर छुट्टाछुट्टै योजनासहित ल्याएको छ।
बैंकले ल्याएको योजनाहरू यस्तो छः
१. व्यक्तिगत ग्राहक
व्यक्तिगत मुद्दती खाता भएका ग्राहकलाई एनआइसी एसिया बैंकले 'एनआइसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना' अन्तर्गत विशेष प्याकेज उपलब्ध गराएको छ। व्यक्तिगत ग्राहकका लागि ६ वर्ष ४ महिना २५ दिनमा दोब्बर रकम पाउनेदेखि २१ वर्ष ७ महिना १७ दिनमा १० गुणासम्म रकम पाउने योजना ल्याएको छ।
मानौं व्यक्तिगत ग्राहकले आफ्नो मुद्दती खातामा २ लाख रूपैयाँ राखेका छन् भने ६ वर्ष ४ महिना २५ दिनमा ४ लाख रूपैयाँ पाउने छन्। १० वर्ष २ महिना १४ दिनमा तीन गुणा अर्थात २ लाखको ६ लाख प्राप्त गर्ने छन्।
त्यस्तै, १२ वर्ष ११ महिना २ दिनमा ४ गुणा सम्म रकम प्राप्त हुनेछ अर्थात २ लाखको ८ लाख पुग्नेछ। १५ वर्ष १३ दिनमा ५ गुणा अर्थात २ लाखको १० लाख पुग्ने छ।
त्यसैगरी, १६ वर्ष ९ महिना ६ दिनमा ६ गुणा, १८ वर्ष २ महिना २४ दिनमा ७ गुणा, १९ वर्ष ६ महिना १ दिनमा ८ गुणा, २० वर्ष ७ महिना १५ दिनमा ९ गुणा र २१ वर्ष ७ महिना १७ दिनमा १० गुणा रकम प्राप्त गर्नेछन्। २१ वर्ष ७ महिना १७ दिनमा १० गुणा भनेको २ लाखको २० लाख रूपैयाँ निक्षेप पाउने योजना हो।
२. संस्थागत ग्राहक
संस्थागत ग्राहकका लागि पनि बैंकले यस्तै आकर्षक योजना उपलब्ध गराएको छ। संस्थातग ग्राहक भन्नाले कुनै पनि संघ संस्थाका खाता, विभिन्न स्थानीय निकायहरूका खातालाई बुझिन्छ। विभिन्न संघ, संस्था, कर्पोरेट हाउस, उद्योग व्यवसाय, साना तथा मझौला कम्पनीहरू, महानगरपालिका, नगरपालिका, गाउँपालिका वा अन्य स्थानीय तहहरूले आफ्नो मुद्दती खातामा रहेको रकमलाई 'एनआइसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना' मा राख्न सक्छन्।
संस्थागत ग्राहकले यो योजनाअन्तर्गत ७ वर्ष २ महिना २७ दिनमा आफ्नो खातामा रहेको रकम दोब्बर पाउन सक्नेछन्। मानौं कुनै संस्थाले 'एनआइसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना' अनुसार ५ लाख रूपैयाँ खातामा राखेको छ भने ७ वर्ष २ महिना २७ दिनमा १० लाख रूपैयाँ प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, ११ वर्ष ८ महिना ९ दिनमा तीन गुणा अर्थात ५ लाखको १५ लाख, १४ वर्ष १० महिना २९ दिनमा ४ गुणा अर्थात ५ लाखको २० लाख र १७ वर्ष ५ महिना ९ दिनमा ६ गुणा सम्म अर्थात ५ लाखको ३० लाख रूपैयाँ प्राप्त गर्नेछन्।
त्यसैगरी, १९ वर्ष ६ महिना ७ दिनमा ६ गुणा सम्म, २१ वर्ष ३ महिना १३ दिनमा ७ गुणा सम्म, २२ वर्ष ९ महिना २६ दिनमा ८ गुणा सम्म, २४ वर्ष २ महिना ५ दिनमा ९ गुणा सम्म र २५ वर्ष ४ महिना २३ दिनमा १० गुणा सम्म रकम प्राप्त गर्न सक्छन्। ५ लाख रूपैयाँ निक्षेप राख्ने संस्थागत ग्राहकले २५ वर्ष ४ महिना २३ दिनमा ५० लाख रूपैयाँ निक्षेप लिन सक्नेछन्।
३. रेमिटेन्स ग्राहक
एनआइसी एसिया बैंकले रेमिटेन्स मुद्दती खाता खोल्ने ग्राहकका लागि पनि यस्तै किसिमको विशेष योजना उपलब्ध गराएको छ। रेमिटेन्स ग्राहकले ५ वर्ष १० महिना १४ दिनमा दोब्बर निक्षेप र १९ वर्ष १० महिना २ दिनमा १० गुणा सम्म निक्षेप पाउने छन्। मानौ रेमिटेन्स ग्राहकले आफ्नो खातामा 'एनआइसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना'अन्तर्गत ३ लाख रूपैयाँ राखेका छन् भने ५ वर्ष १० महिना १४ दिनमा दोब्बर अर्थात ६ लाख रूपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै, ९ वर्ष ४ महिना १० दिनमा तीन गुणा अर्थात् ३ लाखको ९ लाख रूपैयाँ, ११ वर्ष १० महिना ७ दिनमा ४ गुणा अर्थात ३ लाखको १२ लाख रूपैयाँ र १३ वर्ष ९ महिना १५ दिनमा ५ गुणा अर्थात् १५ लाख रूपैयाँ प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी, १५ वर्ष ४ महिना १७ दिनमा ६ गुणा, १६ वर्ष ८ महिना २१ दिनमा ७ गुणा, १७ वर्ष १० महिना २० दिनमा ८ गुणा, १८ वर्ष ११ महिना १ दिनमा ९ गुणा र १९ वर्ष १० महिना २ दिनमा १० गुणा निक्षेप प्राप्त गर्न सकिन्छ।
आफ्नो मुद्दती खातामा ३ लाख रूपैयाँ राख्ने रेमिटेन्स ग्राहकले १९ वर्ष १० महिना २ दिनमा १० गुणा सम्म अर्थात ३० लाख रूपैयाँ रकम प्राप्त गर्न सक्नेछन्। 'एनआइसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना'मा ग्राहकले यसअघि बैंकले घोषणा गरेको सर्वश्रेष्ठ बचत खातामा रहेका सबै सुविधाहरू पनि प्राप्त गर्न सक्नेछन्।
सर्वश्रेष्ठ बचत खातामा ५ वर्षसम्म ८४ लाखसम्मको बीमा सुविधा पाउन सकिन्छ। यस खातामा सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य फाइदाहरू गरी २४ फाइदाहरू उपलब्ध छन्।
एनआइसी एसिया बैंकले हाल मुलुकभर रहेको आफ्नो ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर र ८१ शाखारहित बैंकिङ सेवामार्फत ग्राहकहरूलाई बैंकिङ सेवा उपलब्ध गराइरहेको छ।
बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १६ करोड रूपैयाँभन्दा सम्म राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ। जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान हो।