नेप्से घट्ने क्रम जारी रहेको छ। बिहीबार नेप्से परिसूचक १८.९६ अंकले घटेर बन्द भएको छ।
यस दिन नेप्से ०.९२ प्रतिशतले घटेर २०३७.९२ बिन्दुमा पुगेर बन्द भएको छ।
बिहीबार कारोबारमा आएका २२३ वटा धितोपत्र तथा ऋणपत्रको १ अर्ब ७६ करोड १० लाख २३ हजार ३८ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।
बुधबारको तुलनामा आज कारोबार रकम पनि घटेको छ। बुधबार १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४६ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको थियो।
बिहीबार हिमालयन हाइड्रोपावर सेयर मूल्य सर्वाधिक बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३३३ रुपैयाँ ६० पैसा कायम भएको छ।
त्यस्तै, दोस्रोमा अपर हेवाखोला हाइड्रोपावको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर अन्तिम मूल्य प्रतिकित्ता १४३ रुपैयाँ २० पैसा कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा युनिलिभर नेपाल र बुद्धभूमी नेपाल हाइड्रोपावर रहेका छन्।
युनिलिभर नेपालको सेयर मूल्य ८.२३ प्रतिशत र बुद्धभूमी नेपालको सेयर मूल्य ७.५६ प्रतिशतले घटेको छ। युनिलिभर नेपालको सेयर मूल्य प्रतिकित्ता १८ हजार ९०५ रुपैयाँ र बुद्धभूमी नेपालको सेयर मूल्य प्रतिकित्ता ४०२ रुपैयाँमा झरेको छ ।
बिहीबार सर्वाधिक सेयर खरिद–बिक्री शिवम् सिमेन्टको भएको छ। कम्पनीको ७ करोड २७ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७३३ रुपैयाँ कायम भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन डिष्टिलरी रहेको छ। यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३ हजार ७५५ रुपैयाँमा ६ करोड १२ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्डको परिसूचक ०.४६ प्रतिशतले बढेको छ भने बाँकी १२ वटा समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशतले घटेको छ। त्यस्तै, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र लगानी समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।
यसैबीच, नेप्सेले उसको आधिकारीक वेबसाइटबाट विभिन्न कोड प्रयोग गरेर तथ्यांक तान्ने प्रयास भइरहेको भन्दै यस बिरुद्ध कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी दिएको छ।