नेपाल धितोपत्र बोर्डले बिहीबार सार्वजनिक गरेको संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को प्रारम्भिक मस्यौदामा मर्जरको समयमा १५ दिन मात्रै कारोबार रोक्का हुने व्यवस्था गरेको छ।
मर्जरपछि एकीकृत व्यवसायिक कारोबार गरेको मितिले बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का रहने व्यवस्था गरिएको हो।
सबैको राय लिएपछि मात्रै यो मस्यौदा आवश्यकता अनुसार संशोधन भएर कार्यान्वयनमा आउने धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यले बताए।
मस्यौदामा गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण लगायतका कार्यका लागि यसरी बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था गरिएको छ।
संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा अर्को संस्थालाई प्राप्ति गर्ने संस्थाको भने सेयर कारोबार रोक्का राख्नुपर्ने छैन।
संगठित सस्थाका गाभ्ने-गाभिने वा प्राप्ति प्रारम्भिक सम्झौता भएको छ महिनाभित्र सम्पन्न गरि सक्नु पर्ने व्यवस्था समेत मस्यौदामा गरिएको छ।
त्यस्तै, मस्यौदा अनुसार यसरी मर्जर तथा प्राप्तिमा जाने संस्थाहरूको सम्पत्ति दायित्व मूल्यकन प्रतिवेदन (ड्यू डिलिजेन्स अडिट) गरेपछि मात्रै संस्थाले सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) निर्धारण गर्नुपर्ने भएको छ।
यसरी निर्धारण गरिएको स्वाप रेसियो सम्बन्धित संस्थाहरुको सञ्चालक समितिबाट अनुमोदन गरेपछि मात्रै सार्वजनिक गर्न पाइनेछ। यस्तो स्वाप अनुपातको जानकारी सार्वजनिक हुनु अगावै कुनैपनि पक्षले यस सम्बन्धि सूचना तथा जानकारी चुहावट गर्न नपाइने भएको छ।
त्यस्तै, नेप्सेमा सूचीकृत संगठित संस्था र सूचीकरण नभएको संगठित संस्था एक-आपसमा गाभ्ने गाभिने वा प्राप्ति हुने भएमा नियमकारी निकायले तोके अनुसार संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व मिलाउनु पर्ने व्यवस्था समेत गरिएको छ।
यस्ता संस्थाले एकीकृत व्यवसायिक कारोबार सुरू गरेको एक वर्षभित्र नियमकारी निकायले तोके अनुसार संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व अनुपात मिलाउनु पर्ने मस्यौदामा व्यवस्था गरिएको छ।