स्थानीयलाई छुट्याएको सेयरमा विवाद भएपछि साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको कार्यालय तोडफोड भएको छ।
कम्पनीको रसुवाको वडा नम्बर चार आमाछोदिङमोमा रहेको कार्यालयमा तोडफोड भएको कम्पनीका एक सञ्चालकले जानकारी दिए।
'पहिले नै सेयर जारी गर्ने नमूनामा सहमति भएपनि अहिले आएर गत्लाङका बासिन्दाहरूले विरोध र तोडफोड गरेका हुन्,' ती सञ्चालकले भने।
कम्पनीमा आन्तरिक प्रयोजनमा रहेको पेट्रोल पम्प समेत तोडफोड गरिएको र यस क्रममा दुई जना कर्मचारी गम्भिर घाइते भएको समेत जानकारी प्राप्त भएको छ।
२०७६ माघ २९ गते जिल्ला समन्वय समितिको बैठकमा सेयर जारी गर्ने नमूनामा सबैले सहमति जनाएको ती सञ्चालकको भनाइ छ।
स्थानीय बासिन्दालाई पनि चार वर्गमा विभाजन गरेर सेयर जारी गर्ने मोडालिटी कम्पनीले बनाएको थियो। यही मोडालिटी अनुसार गत साउन पाँच गतेदेखि कम्पनीको सेयर जारी भएको छ।
१४.८ मेगावाटको साञ्जेन (माथिल्लो) जलविद्युत र ४२.५ मेगावाटको आयोजना निर्माण गरिरहेको कम्पनीले आगामी भदौ ५ गतेदेखि स्थानीयलाई सेयर जारी गर्दैछ।
कम्पनीले आमाछोदिङमो गाँउपालिकाको वडा नम्बर पाँच चिलिमेलाई अति प्रभावित क्षेत्र,वडा नम्बर ४ गोल्जुङलाई प्रभावित क्षेत्र, वडा नम्बर १,२,३ लाई समान्य प्रभावित क्षेत्र र बाँकी सम्पूर्ण जिल्लाबासीलाई न्यून प्रभावितको रूपमा वर्गिकरण गरेको छ।
जारी हुने १० प्रतिशत सेयरमध्ये अति प्रभावितको लागि ४.५ प्रतिशत, प्रभावितको लागि तीन प्रतिशत, सामान्य प्रभावितको लागि १.५ प्रतिशत र न्यून प्रभावितको लागि एक प्रतिशत छुट्याएको छ। तोडफोडमा उत्रिएका गत्लाङबासी सामान्य प्रभावितमा परेका हुन्।