ठमेल रेमिट नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को नयाँ प्राविधिक सदस्यको रूपमा जोडिएको छ।
अब ठमेल रेमिटले 'तु रेमिट्यान्स सेवा'का लागि आन्तरिक च्यानलको रूपमा एनसिएचएलको नेशनल पेमेन्ट स्विच (एनपिएस) प्रयोग गर्ने भएको छ।
एनसीएचएलसँगको यस आबद्धतापछि संयुक्त राज्य अमेरिका (युएसए) बाट पठाएको पैसा अब केही सेकेन्डमै नेपालमा प्राप्त गर्न सकिने बताइएको छ।
नेशनल पेमेन्ट स्विचसँगको सहकार्यबाट आफूहरू उत्साहित भएको ठमेल रेमिटका सह–संस्थापक बाल के जोशीले बताए।
यस सहकार्यले ठमेल रेमिटलाई अमेरिकादेखि नेपालसम्मको मार्गमा गैर–कार्डमा आधारित, बैंक–टु–बैंक कारोबार तत्काल सेटलमेन्ट गर्ने पहिलो डिजिटल मनी ट्रान्सफर कम्पनी बनाउने उनले बताए।
सामान्यतया, यस प्रकारको रियल टाइम ट्रान्सफर सुविधा महँगो शुल्क लाग्ने डेबिट र क्रेडिट कार्ड नेटवर्कमा मात्रै उपलब्ध रहेको भन्दै उनले अमेरिकामा भएका नेपालीहरुलाई अब अझै छिटो र चुस्त रूपमा नेपालका जुनसुकै कुनाकाप्चामा पैसा पठाउने सेवा प्रदान गर्न सक्ने उनले बताए।
अमेरिकाको नेशनल अटोमेटेड क्लियरिङ हाउस एसोसिएसन अप्रत्यक्ष रूपमै भएपनि नेपाल पेमेन्ट इन्टरफेस (एनपिआई) सँग जोडीएको यो पहिलो पटक भएको उनको भनाइ छ।
यो आवद्धता नेपालमा डिजिटल रेमिटेन्सका लागि एउटा महत्वपूर्ण कदम भएको उनले बताए।
अब ठमेल रेमिटले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपिआई) सँग जोडी एनपिएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गरी रेमिटले स्वचालित रूपमा भुक्तानी कारोबारहरू गर्न सक्ने कम्पनीको भनाइ छ।