धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच मर्जर सम्झौता भएको छ। दुई कम्पनीबीच आइतबार बिहान मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौतामा धौलागिरीको तर्फबाट अध्यक्ष इश्वरलाल राज भण्डारी र खप्तडको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार मर्जर पछि बन्ने कम्पनीको नाम धौलागिरी लघुवित्त नै रहने छ भने अध्यक्षमा इश्वरलाल राज भण्डारी रहने छन्।
सम्झौतासँगै मर्जरको लागि मर्जर संयोजक समिति गठन भएको छ।
समितिको सदस्यहरूमा धौलागिरीबाट संचालकद्वय हरि प्रसाद शर्मा र सिर्जना थापा रहेका छन् भने खप्तडबाट संचालकद्वय रणदेव कृष्ण श्रेष्ठ र डबल बहादुर शाह रहेका छन्।
यी दुवै लघुवित्तले हालै मात्र आइपिओ निष्कासन गरेका थिए। धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्रि खुला गरेको थियो।
कम्पनीले सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो।
राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बाग्लुङ नगरपालिका-२, श्रीनगर टोल, बाग्लुङमा रजिष्टर्ड कार्यालयमार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ।
त्यस्तै खप्तड लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियो।
सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ।