उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडबाडका बेला उपभोग्य सामानको मूल्यबृद्धि र अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ।
खाद्यान्न, ड्राइफुड, फलपूmल, माछामासु जस्ता उपभोग्य बस्तुहरुमा अत्याधिक र अस्वभाविक मूल्य बृद्धि भइरहेको भन्दै समितिले सुपथ मूल्य उपलव्ध गराउनेगरी काम गर्न निर्देशन दिएको हो।
उपभोग्य बस्तुहरुको आवश्यकता अनुसार भण्डारण गर्न, उपभोग्य बस्तुहरुमा मिसावट अन्त्य गर्न, कालोबजारी र कृत्रिम अभाव सिर्जना गरी मूल्य बृद्धि गर्नेलाई अनुगमन गरी कारवाही गर्न समितिले भनेको छ।
अनुगमन, कारबाही तथा कार्यायोजनाबारे सम्पूर्ण विवरण पठाउन समितिले निर्देशन दिएको छ। चाडबाडका बेला पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको आपूर्ति व्यवस्था सर्वसुलभ गराउन, पेट्रोलियम पदार्थको मूल्य बृद्धि नगर्न भनिएको छ।
भारतबाट आयात हुने चामल कम गुणस्तर र गुणस्तरहीन आएको जनगुनासो आएको जनाउँदै समितिले त्यसबारे जानकारी मागेको छ।
चिनी भण्डारणको गोदामहरुमा तत्काल अनुगमन गर्न र गैरकानूनी रुपमा सञ्चालनमा रहेका गोदाम शिलबन्दी गरी कारबाही गर्न समितिले भनेको छ।
किसानले उखुको बक्यौता रकम पाउनेगरी काम गर्न, जनकपुर चुरोट कारखाना र विरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको जग्गाको सम्पूर्ण विवरण समितिमा पठाउन निर्देशन दिइएको छ।
उपभोक्तालाई गुणस्तरहिन र अखाद्य बस्तुहरुको उपभोगबाट बचाउनको लागि गुणस्तर परीक्षण गरेर मात्र विक्री वितरण गर्ने प्रवन्ध मिलाउन निर्देशन दिइएको छ।