विश्वव्यापी प्रत्यक्ष बैदेशिक लगानी गएको देशककै न्यून प्रवाह भएको छ। सन् २०१८ मा २००७ पछिको सबैभन्दा न्यून लगानी प्रवाह भएको सयुक्त राष्ट्र संघीय कन्फ्रेन्स अन ट्रेड एन्ड डेभलपमेन्ट(अनट्याड)को अध्ययनले देखाएको छ।
अनट्याड ग्लोबल इन्भेष्टमेन्ट ट्रेन्ड मनिटरका अनुसार २०१८ मा १ हजार २ सय अर्ब अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानीको रुपमा प्रवाह भएको छ। जुन सन् २०१७ को तुलनामा १९ प्रतिशतले न्यून हो।
संसारभर सन् २०१८ मा भएकाे प्रत्यक्ष वैदेशिक लगानी आर्थिक मन्दी पछिको पछिको सबैभन्दा न्यून हो। सन् २००७ मा १ हजार ७ सय ३० अर्ब अमेरिकी डलर लगानी प्रवाह भएको थियो।
विश्वमा अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले घटेको प्रत्यक्ष वैदेशिक लगानी विकसित अर्थतन्त्रमा धेरै घटेको छ।
अनट्याडका अनुसार विकसित मुलुकमा ४० प्रतिशतले घटेको छ। विकसित मुलुकमा २०१८ मा ४५१ अर्ब डलर लगानी प्रवाह भएको छ। अनट्याडका अनुसार यो सन् २००४ पछिकै न्यून हो।
यही अविधमा युरोपमा ७३ प्रतिशतले लगानी कम भएको छ। यो क्षेत्रमा १०० अर्बमात्र लगानी भएको छ जुन सन् १९९० पछिकै न्यून हो।
विकासोन्मुख मुलुकहरुमा भने यस्तो लगानी केही बढेको छ। अनट्याडको प्रतिवेदनअनुसार सन् २०१८ मा यस्तो क्षेत्रमा ६९४ अर्ब डलर लगानी भएको छ जुन २०१७ को तुलनामा ६ प्रतिशतले बढी हो। त्यस्तै विकासोन्मुख एसियान मुलुकमा पनि ५ प्रतितले लगानी बढेको छ भने अफ्रिकामा ६ प्रतिशतले बढेको छ।