पर्यटकीय नगरी पोखरामा स्वीस इन्टरनेशनल होटल एण्ड रिजोर्टको चेनमा लक्जरी चारतारे होटल खुलेको छ। पोखरामा स्तरीय क्यासिनोसहितको सेवा दिने उद्देश्यले खुलेको स्वीस इन्टरनेशनल सरोवर अहिले आंसिकरुपमा खुलेको छ। होटलले बुकिङ लिन थालेको व्यवस्थापक शुशिलराज पौडेलले जानकारी दिए।
पोखराको लेकसाइडमा रहेको उक्त होटलमा ९६ कोठा रहेका छन्। स्तरीय लक्जरी क्याटोगरीमा कोठाहरु डिजाइन गरिएको पौडेलले जानकारी दिए। ६ स्तरका कोठाहरु रहेका छन्। जसमा सुपेरियर क्वीन २१ वर्गमिटर, डिलक्स क्वीन २६ वर्गमिटर, एक्सिसेवल क्वीन २१ वर्गमिटर, स्वीस सेलेक्ट ३२ वर्गमिटर, फेवा सुइट्स ३७ वर्गमिटर र प्रेसिडेन्टियल सुइट्स ९८ वर्गमिटरका छन्।
करिब ६ रोपनीमा क्षेत्रफलमा २ तला अन्डरग्राउन्ड छन् भने माथि ९ तला। होटलले पर्यटन विभागबाट चारतारे स्तरको प्रमाणपत्र लिएको छ। पोखरामा आधुनिक सुविधासहितको अन्तर्राष्ट्रि चेन होटल भएकाले यसले हरेक सेवा र सुविधामा मापदण्ड पूरा पौडेलको दाबी छ।
होटलको व्यवस्थापन स्वीस इन्टरनेशनल होटल एण्ड रिजोर्टले सम्हाल्ने छ। यसका लागि व्यवस्थापन करार गरिएको पौडेले जानकारी दिए। होटलमा क्यासिनो पनि चलाउने तयारी गरिएको छ। तल्लो ग्राउन्ड फ्लोरमा क्यासिनो चलाउनका लागि व्यवस्थापनले प्रक्रिया पनि अघि बढाइसकेको छ।
पोखरामा क्यासिनो सुविधा नभएकाले त्यसको तयारीमा लागिएको पौडेलले जानकारी दिए।
होटलमा स्वीस इलिजेन्ट एण्ड भाइब्रेन्ट रेष्टुरेन्ट रहेको छ। यसमा विश्वस्तरीय मेन्यु हुनेछ। त्यस्तै टिइटी एण्ड को बार छ। यसमा लोकल पेयपनि पाइने छ। होटलमा पुल बार पनि रहेको छ। होटलमा स्वीस सेलेक्ट लाउन्ज पनि रहेको छ।
होटलमा तातो चिसो पानी बनाउनमिल्ने स्वीमिङपुल रहेको छ। त्यस्तै एउटा पुरै फ्लोर(१६ कोठा बराबर)को ठाउँमा स्पा, जिम, एरोबिक्स जस्ता फिटनेस सुविधा रहने छन्।
सभा, सेमिनार बैठकका लागि ७ वटा हल भएको होटलमा एकैपटक ६/७ सय जना अट्नसक्ने क्षमताको हल रहेको छ। १८० जना अट्ने चारवट हल १४० जना क्षमताको एउटा र ६०÷६० जना अट्ने २ वटा छन्।
सुरक्षाको हिसाबले बलियो संरचना बनाइएको र सावधानीका लागि आधुनिक प्रविधिको प्रयोग गरिएकाले होटलको संरचनात्मक पक्ष पनि अन्तर्राष्ट्रिय स्तरको भएको होटल व्यवस्थापनले जानकारी दिएको छ।
संरचनामात्र नभई पर्यावरणलाई पनि ध्यान दिइएको होटल व्यवस्थापनको भनाइ छ। सकेसम्म वातावरणमैत्री बनाउन खोजिएको पौडेलले बताए।
‘हामीले होटललाई सकेसम्म वातावरणमैत्री बनाउन खोजेका छौं, उर्जादेखि फोहर व्यवस्थापनसम्म हामीले आधुनिक र बैकल्पिक प्रविधि अपनाएका छौं’ पौडेलले भने।
उनका अनुसार होटलमा सोलार राखिएको छ। जसबाट सकेसम्म त्यही उर्जाबाट होटललाई पुग्छ। अथवा थोरैमात्र बिजुली बाहिरबाट लिनुपर्छ। हाल दैनिक १४० किलोवाट उर्जा सोलारबाट उत्पादन भइरहेको छ।
त्यस्तै होटलमा जमिन मुनीको हावालाई तानेर माथि लिएर लबीमा फ्लो गराउने जियोथर्मल प्रविधि राखिएको छ। जसबाट तलका २ तला बेसमेन्ट र ग्राउन्ड फ्लोरमा एयर कन्डिसन राखिएको छैन।
होटलको वालमा ढुंगा र इटा प्रयोग नगरी इन्सुलेसन प्यानल राखिएको छ। जसले गर्दा चिसो तातोमा तापक्रम व्यवस्थापन गर्न सहयोग पुगेको पौडेलले जानकारी दिए।
होटलबाट निस्किएको फोहर व्यवस्थापनका लागि पनि रिसाइकल गर्ने व्यवस्था मिलइएको छ। जहाँबाट निस्किने फोहरबाट वायोग्याँस बनाएर खाना पकाउने ग्यासको प्रयोग घटाइएको छ भने ग्यास बनाएर निस्किएको फोहरलाई मलका रुपमा बिक्री वितरण गर्ने गरिएको छ।
नोपलमा हाल ८ वटा चार तारे होटल रहेका छन्। पर्यटन विभागबाट स्तरीकरण गराउनेमा होटल सरोबरसहित आठ पुगेका हुन्।