भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भौतिक संरचना निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सनलाई तेस्रोपटक म्याद थप गर्ने तयारी गरिएको छ।
धावनमार्ग निर्माण सम्पन्न भएपनि टर्मिनल भवनको फाइनल फिनिसिङ तथा टावर तथा अन्य पूर्वाधारको काम बाँकी रहने भएपछि यही जुलाईसम्म समय पाएको कम्पनीले सन् २०१९ को डिसेम्बरसम्मको समय पाउने भएको छ।
यसका लागि आयोजनाले सिफारिस गरिसकेको छ।
ठेकेदारले आयोजनासमक्ष केही समय माग गरेको र सोहीअनुसार आयोजनाले नागरिक उड्डयन प्राधिकरणमा पत्राचार गरिसकेको छ। २०७१ सालबाट निर्माण शुरु भएको उक्त आयोजनाको काम २०७४ सालमै सम्मपन्न गर्नुपर्ने थियो। यसअघि २ पटक समय थप गर्दै ठेकेदारले यही असार १५ सम्मको समयसीमा पाएको थियो।
भौतिक निर्माणको काम शुरुमा ६ अर्ब २२ करोडमा सम्झौता भएको थियो। गत वर्षमात्र साढे ९ प्रतिशतको भेरियसन पास गरी करिब ७ अर्ब लागत पुगेको छ।
यो पटकको समय थपसँगै भेरियसनको सम्भावना छ। भेरियसनका बारेमा स्थलतगत अध्ययनका लागि नागरिक उड्डयनको टोली आयोजनास्थलमै पुगिसकेको छ।
कम्युनिकेशन तथा एयर नेभिगेसका लागि ठेक्का भइसकेको छ। यसका लागि ९ मिहनाको समय लाग्ने छ। एरो थाइले ठेक्का पाएको भर्खर २ महिना भएको छ।
सिस्टम जडान र भौतिक पूर्वाधारको काम सँगै जोडिएकाले पनि समय थप गर्नुपर्ने अवस्था आएको भन्दै आयोजनाले ठेकेदारको मागलाई सपोर्ट गर्दै पत्राचार गरेको छ।
यद्यपी आयोजना प्रमुख प्रवेश अधिकारीले भने आयोजना सम्पन्न गरी सन् २०२० को जनवरीदेखि नै व्यावसायिक उडान गरिसक्ने बताउछन्।
'हामीले समयमै काम सम्पन्न गरी सञ्चालनको मिति नसर्नेगरी काम गर्ने प्रयास गर्ने छौ'अधिकारीले सेतोपाटीसँग भने।
एसियाली विकास बैंकको ऋण तथा सहायतामा भएको उक्त आयोजनाका लागि नेपाल सरकार र बैंकबीच सन् २०१० मे मा ऋण सम्झौता भएको थियो। आयोजनाको शुरु भने २०१४ बाट भएको थियो।
आयोजनाको कूल लागत ९ अर्ब बढी पुग्ने भएको छ।