व्यवसायिक घराना गोल्यान समूह पछिल्लो समय कृषिमा आकर्षित भएको छ। समूहले सिएसआर प्रोजेक्ट अन्तर्गत झापामा ५ सय किसानसँग सहकार्य गरी खेती गरिरहेको छ। त्यस्तै समूहले झापामै २ सय विघा जग्गा किनेर व्यवसायिक उत्पादन सुरू गरिसकेको छ। अहिले समूहले यो प्रोजेक्टमा करिब ३ करोड लगानी गरेको छ। कृषि अनुभव, आगामी योजना लगायतका विषयमा समूहका अध्यक्ष पवन गोल्यानसँग सेतोपाटी संवाददाता सुनिता सिटौलाले गरेको कुराकानीः
किसान नै कृषि पेशाप्रति अनिच्छुक हुँदै गएका बेला तपाई के देखेर आकर्षित हुनुभयो ?
म उद्योगी हुँ। उद्योगीले आफ्नो फाइदा हुने ठाउँ देखिहाल्छ। नेपालको कृषिमा अरू ठूला उद्योगीले हात हालेका छैनन्। जब मैले अहिले सिएसआर (सामाजिक उत्तरदायित्व)को काम सुरू गरेँ। तब बुझेँ की हामीले कृषिलाई ठूलो उद्योगको रूपमा परिणत गर्न सक्छौँ।
अहिले किसानसँगै मैले २ सय बिघा जग्गा किनेर व्यवसायिक फार्म खोलेको छु। जुन वस्तु किसानले उत्पादन गर्न सक्दैनन् त्यस्ता खालका खेती मैले गरिरहेको छु। खेतीका लागि नयाँ प्राविधिक उपकरण र जनशक्ति पनि राखेको छु। कृषिमा काम थालेकै बेला अर्थात तुरुन्त नाफा हुँदैन तर केही वर्ष कुर्न सकियो भने धेरै नाफा छ।
नेपालमा व्यवसायिक रुपमा अझै कृषिले फड्को मार्न सकेको छैन, तपाई व्यवसायिक कृषिमा लाग्दै गर्दा चुनौति के के देख्नुभयो ?
मैले सहज नै देखेको छु। सुरूमा रासायनिक खेती गरिरहेको ठाउँमा अर्गानिक खेती गर्न त चुनौति नै छ। अर्गानिक खेतीका लागि मैले प्राविधिक, मल, विउ, सिचाई सबैको व्यवस्था गरेको छु। पछिल्लो समय उपभोक्ताले अर्गानिक उत्पादनहरु रूचाएकाले मैले देश विदेश सबैतिर यसको बजार देखेको छु।
सिएसआर प्रोजेक्टलाई मैले नितान्त सामाजिक उत्तरदायित्व बुझेको छु। यसबाट मैले नाफा कमाउने सोंच राखेको छैन। कर्मसियल फार्मबाट निर्यात गरेर नाफा कमाउने मेरो लक्ष्य हो। गोल्यान ग्रुपले कृषिमा लगानी गरेर अबको ३-४ वर्षमा कमायो भन्ने भएपछि कृषिमा लगानी गर्न ठूला व्यवसायीहरूको ‘लहड’ चल्छ।
व्यवसायिक घरानाले थालेको कृषिले स्थानीय किसानलाई कसरी राहत मिल्छ ?
यो प्रोजेक्ट नै यहाँका किसान र उपभोक्ताका लागि हो। हामीले उत्पादन गरेको अर्गानिक उत्पादनले स्वस्थ जीवनका लागि सघाउँछ। हामीले स्थानीय किसानलाई अर्गानिक खेती गर्न सिकाउँछौँ। जैविक र प्राङ्गारिक दुवै मल बनाउन किसानलाई सिकाएका छौँ। सिचाई नभएको ठाउँमा सिचाईको व्यवस्था गरिदिएका छौँ। हामीले त्यसको कुनै पैसा किसानसँग लिएका छैनौँ।
अर्कोतर्फ किसानलाई अर्गानिक खेती गर्न चाहिने विउ उपलव्ध गराइरहेका छौँ। यसले स्थानीय किसानलाई फाइदा पुर्याउँछ।
गोल्यान ग्रुपले अर्गानिक भन्दैमा उपभोक्तासँग पनि महँगो रकम लिँदैन। बजारमा चलेको मूल्यभन्दा सस्तो दिन्छु। व्यवसायिक रुपले किसानसँग मिलेर समूहगत रुपमा खेती गर्दा उत्पादन बढ्दै जान्छ। यहाँ खपत भएर बढी भएका उत्पादन हामी विदेश निर्यात गछौँ। यसले पनि राजस्वमा टेवा पुर्याउँछ।
गाउँगाउँमा गएर किसानलाई अभिप्रेरित गर्न कत्तिको सहज छ ?
सुरूमा त अलि गाह्रै भयो। किसानहरूपनि फाइदा हुने हो वा नहुने हो भनेर डराए। हामीले पहिला किसानलाई नमुना फार्म बनाएर देखायौँ। त्यसपछि त्यहाँका केही किसानले थोरै जग्गामा सुरू गरे। सफल भएपछि अहिले ५ सय किसानसँग हामी काम गरिरहेका छौँ।
अहिले म झापा जाँदा त्यहाँका किसानको घरमा बस्छु। उनीहरूकै घरमा खान्छु। किसानसँग घुलमिल भइसकेको छ। उनीहरूले पनि अर्गानिक खेतीका फाइदा बुझिसकेका छन्। उनीहरुले महत्व बुझेपछि काम गर्न धेरै सहज भएको छ।
झापाका किसानसँग काम गरिरहनु भएको छ, अब कहाँ कहाँ गर्ने योजना बनाउनुभएको छ ?
झापापछि अहिले बर्दियामा २ सय विघा जमिनमा त्यहाँका किसानलाई मसिनो धान उत्पादन गर्न विउ वितरण गरेका छौँ। प्रदेशका कृषि मन्त्रीको आग्रहमा कपास विकास समितिको ११ सय विघा जग्गामा तरकारी खेती गर्न लागेका छौँ। त्यहाँ १४ सय किसान छन्। त्यहाँ कपास लगााएका छैनन् उनीहरूको अवस्था दयनीय छ। त्यहाँका किसानलाई काम दिएर जीवनस्तर उकास्नु हाम्रो दायित्व पनि हो।
नेपालमा विउको आयात पनि उच्च हुने भएकाले आयाात घटाउन रोल्पामा बिउ उत्पादन गर्न लागेका छौँ। अरू पनि पकेट क्षेत्र छन्। कुरा आइरहेका छन्, विस्तारै काम गर्दै जाने सोच छ।
कस्तो खेती गर्ने योजना बनाउनु भएको छ ?
नेपालमा उत्पादन हुने मौसमी फलफुल तथा तरकारी उत्पादन गर्ने योजना बनाएको छु। अहिले पनि हामीले १५ महिनाको अवधिमा काक्रो, बन्दा, काउली, घिरौला, गोलभेडा, भिण्डी, स्ट्रवेरी र खर्बुजाको उत्पादन गरेर बिक्री वितरण गर्दै आएका छौँ। सागपातको खेती अहिलेसम्म गरेका छैनौँ। लेलेमा सागपात पनि उत्पादन गर्न किसानसँग कुरा भइरहेको छ।
अहिले सिएसआरको प्रोजेक्टलाई नै देशभरी फैलाउने योजना बनाएको छु। अहिले २÷३ करोड मात्र लगानी गरेको छु। पछि समग्र कृषिमा १ अर्ब भन्दा बढी लगानी गरी अन्य ठूला उद्योग सरह बनाउने योजना छ, ताकि अरु ठूला उद्योगीहरु पनि कृषिमा लगानी गर्न आकर्षित होउन्।
उत्पादनपछिको बजार कहाँ कहाँ रोज्नुभएको छ ?
कृषि हाम्रो दीगो योजना हो। त्यसै अनुरूपको बजार योजना पनि बनाएका छौँ। स्वदेश देखि विदेशसम्म हाम्रो बजार हो। हाम्रो उत्पादन ‘माटो’ ब्राण्डबाट विदेशसम्म जान्छ। उत्पादन भइसकेपछि बजारको चिन्ता छैन।