जेठ १ गतेदेखि सञ्चालनमा आएको एकल विन्दु सेवा केन्द्रमा ७७ अर्ब लागतका उद्योग दर्ता भएका छन्। उद्योग विभाग परिसरमा रहेको उक्त केन्द्रबाट जेठ १ देखि ३२ सम्म स्वदेशी र विदेशी लगानीका गरी ३९ वटा उद्योग दर्ता भएका हुन्।
जुन उद्देश्यका साथ एकल विन्दु सेवाको उद्घाटन गरिएको थियो सो अनुरूप भने काम हुन सकेको छैन। विभिन्न मन्त्रालयबाट आएका कमर्चारी अधिकार प्रत्यायोजन नभएकाले समस्या भएको उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहले बताए।
यो अवधिमा उर्जामूलक कम्पनीको दर्ता धेरै देखिएको छ। जेठमा मात्र १४ वटा उर्जा उत्पादक कम्पनी दर्ता भएका छन्। ती सबै कम्पनीको चुक्ता पुँजी ७५ अर्ब हुने बताइएको छ।
कृषि तथा वनजन्यमा ३, सूचना प्रविधिमा ४, उत्पादनमूलकमा ७, सेवामूलकमा ४ वटा र पर्यटनमूलकमा ७ वटा उद्योग दर्ता भएका छन्।
यो अवधिमा विदेशी लगानीका उद्योग भने न्यूनमात्रामा दर्ता भएका छन्। उद्योग विभागकाअनुसार जेठमा ३ अर्ब चुक्ता पुँजी हुने बताइएका पाँचवटा उद्योगमात्र दर्ता भएका छन्।
त्यसमा अधिकांस चिनियाँ लगानीका रहेका छन्।
एकल विन्दु सेवा केन्द्र भनिएपनि प्रभावकारीरुपमा सञ्चालनमा आउन सकेको छैन। सबै सेवा एउटै झ्यालबाट पाइने भनेर ल्याइएको यो अवधारणा कार्यान्वयन हनुनसक्दा फाइल घुमाउने प्रथा कायमै रहेको छ।
उद्योग दर्ता गर्नु अगाडिका कामदेखि उद्योग दर्ता भइसकेपछि त्यसको सञ्चालन प्रक्रिया र यदि उद्योग बन्द भई लगानी झिक्नुपर्ने अवस्था सम्मका सबै सरकारी सेवा, सुविधा र सहुलियत एकै ठाउँबाट दिन एकल विन्दु सेवा केन्द्र स्थापना गरिएको हो।
‘विभिन्न मन्त्रालयबाट खटिएका कर्मचारी अधिकार प्रत्यायोजन नभएकाले कुनै कुनै कामका लागि उद्योगी आफै मन्त्रालय जान परेको छ’ उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले भने , ‘अधिकार प्रत्यायोजनका लागि मन्त्रालयमा चिठी पठाएको छु।’
एकल विन्दु सेवा केन्द्रमा ३१ जना कर्मचारी खटिएका छन्। २२ जना विभागबाट नै गएका छन् भने ९ जना बाहिरबाट आएका छन्।
विदेशी विनिमय, राजश्व तथा भन्सार, जग्गा सहजीकरण र भीसा सहजीकरणको लागि कर्मचारी आएका छन् भने अन्य वन तथा वातावरण मन्त्रालय, भूमी व्यवस्था तथा गरिवी निवारण मन्त्रालय, भौतिक यातायात तथा पूर्वाधार मन्त्रालय, ऊर्जा तथा जलस्रोत मन्त्रालय, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, अध्यागमन विभाग र कम्पनी रजिष्ट्रारको कार्यालयबाट भने कर्मचारी आएका छैनन्।
सबै विभाग तथा मन्त्रालयबाट आएका कर्मचारीको दैनिकरूपमा काम नहुने भएकाले सबै कर्मचारी नआइसकेको उनले जानकारी दिए।
आगामी आर्थिक वर्षबाट भने एकल विन्दु सेवा केन्द्र पूर्ण रूपमा सञ्चालन गर्ने निर्देशक सिंहले बताए।
उद्योग विभागको तथ्याङ्क हेर्दा साउनदेखि वैशाखसम्ममा ३ सय ८३ वटा उद्योग दर्ता भएका छन्।