सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण कार्य तत्काल स्थगन गर्ने निर्णय गरेको छ।
आधुनिक प्रयोगशाला नभएकाले तत्काल परीक्षण कठिन देखिएकाले पूरानै प्रक्रियाबाट तरकारीको जाँचपास हुने निर्णय गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जानकारी दिए।
‘पूर्वाधार नभएकाले तरकारी नाकामै कुहिने समस्या आएको देखियो, त्यसैले अहिलेलाई पुरानै प्रक्रियाबाट जाँचपास गराउने र यथासिघ्र प्रयोगशाला बनाउने क्याविनेट निर्णय भएको छ’ यादवले सेतोपाटीसँग भने।
यसअघि आफ्नो देशबाट आउने तरकारी र फलफूल नेपाली सीमामा चेक जाँच हुन थालेपछि भारतले आपत्ति जनाएको थियो।
काठमाडौंस्थित भारतीय राजदूतावासले सरकारका उच्च अधिकारीलाई चिठी पठाएर भारतीय तरकारी र फलफूलमा भइरहेको विषादी चेकजाँचबारे चासो व्यक्त गरेको थियो।
‘हामीले नेपाल सरकारका उच्च अधिकारीहरूलाई भेटेर र लिखित रूपमै आफ्नो कुरा भनेका छौं,’ दूतावासका प्रवक्ता अभिषेक दुवेले सेतोपाटीसँग भने।
स्रोतका अनुसार भारतले विषादी परीक्षणका दुइटा कुरामा आपत्ति जनाएको थियो। पहिलो, सीमा नाकामा पर्याप्त उपकरण र जनशक्ति नभएकाले विषादी जाँच्न समय लाग्ने भएकाले धेरै तरकारी र फलफूल सडेका थिए।
भारतको अर्को आपत्ति नेपालबाट जाने तरकारी र फलफूलमा भारतले नियमित विषादी चेकजाँच गर्दैन भने नेपालले किन गर्ने भन्ने थियो।
सरकारले असार पहिलो सातादेखि भारतीय फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको थियो।
गुणस्तरहीन वस्तुको आयात रोक्ने उद्देश्यले सरकारले गरेको यो नीतिगत व्यवस्थाको कार्यान्वयनमा भने चुनौती देखिएको थियो।
हाल कालिमाटी र सर्लाहीको हरिवनमा मात्रै हाल फलफूल तथा तरकारीको विषादी परीक्षण हुन्थ्यो।
भन्सारहरुमा विषादी परीक्षणको उपकरण नहुँदा आयातकर्तालाई काठमाडौं आई नमुना परीक्षण गराई लैजानु पर्ने बाध्यता थियो।
कालिमाटी बजारमा आउने तरकारी तथा फलफूलको ४० प्रतिशत भारतले ओगटेको छ भने ६० प्रतिशत स्थानीय बजारले ओगटेको छ।