नेपाल आउने विदेशी पर्यकटको संख्यामा भएको वृद्धिसँगै पूर्वाधारमा हुने लगानी पनि बढिरहेको छ। प्रमुख पर्यटकीय पूर्वाधारको रूपमा रहेको होटलमा निजी क्षेत्रको लगानी पछिल्लो समय निरन्तर बढीरहेको छ।
गएको वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाबाट होटलमा हुने लगानी ३१ प्रतिशतले बढेको छ। औसत १८ प्रतिशतले कर्जा विस्तार गरेको बैंकिङ क्षेत्रले होटल क्षेत्रमा भने ३१ प्रतिशत लगानी बढाएको हो।
उक्त अवधिमा होटल क्षेत्रमा २० अर्ब ९४ करोड कर्जा गएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३१ प्रतिशतले बढी हो।
अघिल्लो वर्ष २७ प्रतिशतले बढेर १४ अर्ब २ करोड लगानी प्रवाह भएको थियो।
लगानी विस्तार नयाँ परियोजनामा मात्र भने होइन। कतिपय चालु अवस्थाकै होटलले क्षमता विस्तार तथा अन्य कामको लगानी कर्जा लिन्छन् भने कतिपय नयाँ परियोजनाकै लागि लिन्छन्।
यो वर्ष भएको कर्जा विस्तार तथा लगानीको प्रतिफल आउन भने केही समय लाग्छ। लगानी गर्दा सामन्यत: कूल लगानीको ७० प्रतिशत कर्जा लिने गर्छन्। पछिल्लो समय नेपालमा होटल तथा रिसोर्टमा लगानी बढिरहेको छ। बढ्दो पर्यटक आगमनलाई लक्षित गर्दै व्यवसायी होटलमा आकर्षित भइरहेका छन्।
खर्ब बढी लगानीमै ठूला होटल निर्माणाधीन छन्। काठमाडौंमा म्यारियट, ताज भिभान्ता,चितवनमा फ्रेन, भैरहवामा टाइगर प्यालेस, पोखरामा स्वीस इन्टरनेशनल, नेपालगञ्जमा सोल्टी वेष्टेन्ड प्रिमियर र सेन्ट्रलप्लाजा केही ठूला होटल गएको एक वर्षभित्र सञ्चालनमा आए।
त्यस्तै काठमाडौंमा स्टारउडको चेन अलफ्ट काठमाडौं, शेराटन, भैरहवामा पवनप्यालेस, हायात प्लेस जस्ता पाँचतारे स्तरका होटल सञ्चालनको तयारीमा छन्। यी होटल पनि अबको एक वर्षभित्र सञ्चालन भइसक्ने छन्।
ठूलासँगै पर्यटकस्तरका साना र मध्यमस्तरीय होटल करिब २ दर्जन होटल सञ्चालनको तयारीमा छन्। भूकम्पपछि बन्द भएको काठमाडौंको पाँचतारे एभरेष्ट होटल पनि आगामी साउनदेखि सञ्चालनमा आउने भएको छ।