निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले काठमाडौं-ढाका सिधा उडान आजदेखि शुरु गर्ने भएको छ। साउन ६ गतेदेखि नियमित व्यावसायिक उडान शुरु गर्न लागिएको एयरलाइन्सले जानकारी दिएको छ।
एअरलाइन्स्ले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ उक्त रुटमा सञ्चालनमा ल्याउनेछ ।
व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बांगलादेश जाने दुवै प्रकृतिका यात्रुहरुका लागि नयाँ उडान तालिका सार्वजनिक गरिएको एयरलाइन्सले जानकारी दिएको छ। नेपाली पयर्टनका लागि बांगलादेश ठूलो बजार भएको र यो उडानबाट बंगलादेशी पर्यटकलाई नेपाल सम्मको सहज पहुँच विस्तार हुने एयरलाइन्सको विश्वास रहेको छ।
‘अर्को एशियाली मुलुक बांगलादेशको ढाकामा हाम्रो सञ्जाल विस्तार गर्न पाएकोमा हामी प्रसन्न छौं । यो पहलले छिमेकी मुलुकहरुमा नेपालको पर्यटन र व्यवसाय प्रवद्र्धनमा टेवा पु¥याउनेमा विश्वस्त छौं । विशेषत दुई देश बीचको सम्बन्धलाई अझै मजबूत बनाउ“दै यस सञ्जालले नेपाल र बांगलादेश बीच व्यावसायिक अवसरहरु सिर्जना गर्नेछ र मुख्यतः मध्यपूर्वी मुलुक र बांगलादेश बीच पूल बन्दै सेवा प्रवाह गर्नेछ । सदाझैं हिमालय एअरलाइन्स् नेपाली सत्कारका साथ हाम्रा मूल्यवान यात्रुहरुलाई निरन्तर उत्कृष्ट सेवा उपलब्ध गराउन प्रतिबद्ध रहनेछ’ एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने।
एअरलाइन्स्ले हप्ताको तीन दिन उपयुक्त समयमा ढाका उडान गर्ने छ। हिमालयको उडान काठमाडौंबाट ११:१० मा उड्ने छ। ढाकाको समयअनुसार उक्त जहाज १३:१० मा हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अतवरण गर्ने छ।
ढाकाबाट स्थानीय समय २:१० मा उड्ने जहाज र त्यही दिन काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३:२० मा उत्रनेछ । दुईतर्फी उडानमै प्रिमियम इकनोमी क्लासमा २५ किलो सम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० केजी सम्मको लागि छुट हुनेछ ।
सोमबार,बुधबार र शनिबार हिमालयका उडान हुने छन्।