दाङ एयरपोर्टमा भोलि बुधवारदेखि दैनिक दुई वटा उडान हुने भएको छ।
नेपाल एयरलाइन्सका उपनिर्देशक पुष्पकुमार श्रेष्ठले तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई पत्र लेख्दै दैनिक दुई वटा उडान गर्न प्रस्ताव पठाएका छन्।
यात्रुको चाप बढेको भन्दै श्रेष्ठले दैनिक दुई वटा उडान गर्नेगरी गरेको प्रस्तावलाई तुलसीपुर उपमहानगरपालिकाले पनि स्वीकार गरेको छ। नेपाल बायुसेवा निगम र तुलसीपुर उपमहानगरपालिकाको बीचमा २०७५ साल कात्तिक ३० गते तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँ एयरपोर्टमा विमान उडानका सम्वन्धमा द्धिपक्षीय सम्झौता भएको थियो।
त्यसयता काठमाडौं – दाङ– काठमाडौंमा दैनिक एउटा उडान हुँदै आएको छ। तर साउन २२ गतेदेखि भने यात्रुको चापलाई मध्यनजर गर्दै दैनिक दुई र हप्तामा २४ वटा उडान गर्ने प्रस्ताव निगमले गरेको छ। उपनिर्देशक श्रेष्ठले नगरप्रमुख पाण्डेलाई लेखेको पत्रमा टिकट खरिद गर्ने यात्रुको चाप बढ्दै गएको अवस्था उल्लेख गरेका छन्।
‘दैनिक एक उडानले यात्रुको चाप थेग्न असहज हुन थालेको र थप उडानको समेत माग बढ्दै गएकाले उडान संख्या थप्न लागेका हौं,’ श्रेष्ठले भने । यसलाई नगरप्रमुख पाण्डेले जिल्लाबासीको लागि एउटा अवसर भएको बताए ।
‘ निगमको प्रस्तावले हामी त निकै खुसी भएका छौं । विमान सेवा वन्द हुँदा कुनै दिन यात्रु पाईदैनन् भन्ने गलत हल्ला फैलाइएको थियो । त्यो गलत थियो भन्ने आज प्रमाणित भएको छ,’ पाण्डेले भने ।
बन्द रहेको जिल्लाको एक मात्र टरिगाँउ विमानस्थललाई तुलसीपुर उपमहानगरपालिकाले पुनः संचालनमा ल्याएको थियो। टरिगाउँ विमानस्थलमा टर्मिनल भवन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ।
२०११ फागुन ११ मा परीक्षण उडान गरिएको विमानस्थल नियमित रूपमा चल्न नसक्दा यस क्षेत्रका बासिन्दालाई हवाई यात्रा गर्दा भैरहवा वा नेपालगञ्ज जानुपर्ने बाध्यता रहँदै आएको थियो।