पिएचडी अध्ययनको लागि जापान पुगेका तीन नेपाली युवाले अध्ययनसँगै इन्टरनेटमा आधारित व्यवसाय (इकमर्स)मा हात हाले।
तीन युवा प्रकाशचन्द्र सापकोटा, जीवन अम्गाई र भरतसिंह नेगीले जापानमा थालेको इकमर्स अहिले नाफामा जान थालेको छ।
अम्गाई र नेगीले जापानको कोबे युनिभर्सिटीबाट क्रमशः अर्थशास्त्र र मेडिकल साइन्समा पिएचडी गरिसकेका छन् भने सापकोटा ओसाका युनिभर्सिटीमा वित्तीय अर्थशास्त्रमा पिएचडी अध्ययन गरिरहेका छन्।
अध्ययनसँगै केही नयाँ र चुनौतीपुर्ण काम गर्नुपर्छ भन्ने सोचिरहेका अम्गाई र नेगीको विचारले त्यतिबेला मुर्तरुप पायो, जब सापकोटासँग कोबे सिटीमा भेट भयो।
अम्गाई र नेगी व्यवसायिक अनुभवको दृष्टीले नयाँ थिए। सापकोटाले जापान जानुअघि नेपालमा मिडिया, विज्ञापन एजेन्सी, आईटी लगायतको व्यवसायमा करिब एक दशकको अनुभव बटुलिसकेका थिए।
झण्डै ६ महिनाको गहन अध्ययनपछि औपचारिक रुपमा कम्पनी सुरु गर्ने अठोट सहित उनीहरुले पुँजी संकलनको लागि जापानको ओशाका,
नागोया, टोकियो जस्ता शहरमा नेपाली लगानीकर्तासँग भेटघाट गरे। तर नेपाली व्यवसायीहरुले उनीहरुलाई ५० हजार लगानी पनि पत्याएनन्।
हिम्मत नहारी निरन्तर अघि बढ्दै गर्दा अहिले केही नेपाली, जापानिज र अमेरिकन लगानीकर्ताबाट साथ पाइरहेको बताउँछन् संस्थापक निर्देशक प्रकाशचन्द्र सापकोटा।
‘सयौं नामहरु मध्येबाट नेपालको प्रख्यात ताल रारालाई जोडिने गरी कम्पनीको नाम रारामार्ट राखिएको हो’ उनले भने। सुरुआतका बेला फेसबुकमा आधारित भई बिक्री थालेको उनले बताए।
त्यसको १ वर्षपछि अनलाईनको स्वरुपमा ढालिएको हो। हाल जापानमा रारामार्ट डटको डट जेपीबाट यसले बजार अघि बढाएको छ। योसँगै रारामार्ट जापानमा अन्तर्राष्ट्रिय टे«डमार्कका रुपमा दर्ता भइसकेको छ।
पहिलो वर्षको आकर्षक बिक्रीबाट हौसिएका संचालकहरुले रारामार्टलाई नेपालमा समेत विस्तार गर्ने सोच बनाए। सो अनुरुप नेपालमा कम्पनी दर्ता गरे। यहाँका उद्योगी–व्यवसायीहरुले साथ दिए। हाल रारामार्ट नेपालमा उद्योगी प्रदिपजंग पाण्डे, युवा उद्यमी कुशल जोशी लगायत करिब २० जनाको संलग्नता छ।
नेपालमा झण्डै १ वर्षदेखि रारामार्ट डटकमको नामबाट आन्तरिक रुपमा संचालन भइरहेको छ। केही दिनबाट आक्रामक रुपमा बजारमा आउने बताउँछन् सापकोटा। उनी भन्छन् ‘पुर्णतया प्रविधिमा आधारित व्यवसाय भएकाले प्राविधिक पक्षको सफल परीक्षण नगरी हल्ला गर्दा जोखिम हुनसक्ने भएकाले ढिला गरी प्रचार अभियानमा निस्किएका हौँ’ उनले भने।
उनका अनुसार हाल मुख्य रुपमा प्राविधिक निर्माणको कार्य अमेरिकाबाट हुँदै आएको छ। कम्पनीले नेपाल र जापानमा पनि ईनहाउस दक्ष आईटी ईञ्जिनियरहरु राखेर काम गर्दै आएको छ। चिनियाँ इकमर्स जाईन्ट अलिबाबा ग्रुपका प्रमुख ‘ज्याक मा’लाई आदर्श ठान्ने सापकोटा ‘मा’को संघर्ष र सफलताको कथाले उत्प्रेरित गरेको बताउँछन्।
जापानको रोक्कोमिचीमा अवस्थित पार्कमा कोरिएको पहिलो बिजनेश स्केचबाट सुरुभएको रारामार्टको मुख्य विशेषता भनेको सस्तोमा सहज रुपमा घरघरमै गुणस्तरीय बस्तु डेलिभर गर्नु हो। अमेजन, राकुतेन जस्ता बिलियन डलरका अब्वल सपिङ्ग कम्पनीहरुको उच्च प्रतिस्पर्धा रहेको जापानमा कम्पनी टिकाउनु निकै चुनौतीपुर्ण रहेको बताउँछन अर्का निर्देशक डा. जीवन अम्गाई।
उनका अनुसार रारामार्टले पहिलो चरणमा जापानमा बस्ने बिदेशी नागरिकहरुलाई लक्षित गरिहेको छ। निकै कम मार्जिनमा सामानहरु बिक्री गरिरहेको छ। त्यसैले जापानिजको आकर्षण पनि रारामार्टप्रति बढिरहेको उनले बताए। जापानका इकमर्स जाईन्टहरु राकुतेन, अमेजन भन्दा पनि रारामार्ट निकै सस्तो रहेको उनी दावी गर्छन्।
रारामार्टले जापानमा मुख्यरुपमा मोबाइल, इलेक्ट्रोनिक्स, कपडा, जुत्ता जस्ता सामानहरुको व्यापार गरिरहेको छ। खासगरी एप्पल ब्राण्डका घडी, मोवाईल, ल्यापटपहरुको बिक्रीको हिस्सा बढिरहेको र त्यसपछि महिलाहरुको कपडा रहेको बताउँछन डा. अम्गाई। उनका अनुसार रारामार्टले यी बस्तुको व्यापारलाई मुख्य रुपमा अघि बढाएको छ।
जापानमा रहेर विदेशी भेण्डरहरुको प्रडक्टहरुमा छिटो डेलिभरी गर्नेगरी कम्पनीले जापान पोष्ट बैंक, डिएचएल, फेडएक्स जस्ता अन्तर्राष्ट्रिय सपिङ्ग कम्पनीहरुहरुसँग सहकार्य गर्ने भएको छ।
रारामार्ट नेपालले अनलाईन सपिङ्ग बजारको मुख्य कमजोरीलाई शुक्ष्म ढंगले अध्ययन गरी व्यवस्थित रुपमा अघि बढाएको बताउँछन ‘रारा इन्कर्पोरेशन (नेपाल) प्रालि’का अध्यक्ष तथा प्रख्यात उद्योगपति प्रदिपजंग पाण्डे।
उनका अनुसार रारामार्टले पहिलो चरणमा काठमाडौं र ललितपुरमा २४ घण्टे निशुल्क डेलीभरीको योजना कार्यान्वयन गरेको छ। रारामार्टबाट सामान अर्डर गरेको २४ घण्टाभित्र निशुल्क डेलिभरीमार्फत उपभोक्ताले पाउने छन्।
उनले थपे, ‘रिङ्गरोड बाहिर र उपत्यका बाहिरको हकमा पनि रारामार्टले अन्य सपिङ्ग कम्पनीहरुको तुलनामा सबैभन्दा कम मुल्यमा सबैभन्दा छिटो डेलिभरी सेवा प्रदान गरिरहेका छौँ।’ मूल्य किफायतीको दृष्टीले पनि नेपालको पहिलो अनलाईन सपिङ्ग कम्पनी हुनेगरि नयाँ रणनीति सार्वजानिक गरिने उनले बताए।
तीन युवाको भिजन र अगुवाईमा जापानबाट सुरु रारामार्ट नेपालसँगै यतिबेला अमेरिकामा सेवा बिस्तारको प्रक्रियामा अघि बढिरहेको छ। अमेरिकामा कार्यरत नेपालीमुलका अगुवा व्यवसायीहरुको सहभागितामा टेक्सस्मा ‘रारा युएसए कर्पोरेशन’ नामक कम्पनी स्थापना भइसकेको छ।
रारा ग्रुपका निर्देशक सापकोटाका अनुसार कम्पनीले प्रारम्भमा केही समय क्राउड फन्डिङ्गको मोडालिटीमा फण्ड कलेक्सनको काम गर्नेछ र सन् २०२० को अन्त्यसम्म अमेरिकाबाट वल्र्डवाईड इकमर्श सपिङ्ग साईट संचालनमा आउनेछ। उनका अनुसार सन् २०२१ को अन्तसम्ममा भारतमा समेत कम्पनी स्थापना हुनेछ।
कम्पनीका अर्का निर्देशक नेगीले रारामार्टको ग्लोबल ब्राण्डमा लगानीका लागि विश्वभरीका नेपालीलाई अवसर प्रदान गर्ने र यसको कार्ययोजना छिट्टै सार्वजानिक हुने बताए।