आइतबार नै काठमाडौं आएको बम्बार्डियरको टर्बोजेट क्वू४०० जहाजबाट श्री एयरलाइन्सले पोखरा, सिमरा र जनकपुर उडान गर्ने घोषणा गरेको छ। यसअघि जेट इन्जिन जहाजमात्र भएका कारण यी रुटमा उडान गर्न नसकेको एयरलाइन्सले थप गन्तव्यमा उडान गर्ने भएको हो।
यसमध्ये सिमरामा बुद्ध एयरको एकलौटी उडान श्रीको प्रवेससँगै प्रतिस्पर्धा हुने भएको छ। ८० सिट क्षमताको जहाजबाट श्रीले उडान गर्दा भाडामा पनि प्रतिस्पर्धा हुने विश्वास गरिएको छ।
करिब एक अर्ब लगानीमा जहाज थप्ने घोषणा गरेको एयरलाइन्सले अर्को जहाज केही समयभित्रै काठमाडौं आउने बताएको छ।
८० सिट क्षमताको यी जहाजबाट एयरलाइन्सले श्रीसँग भएका सिआरजे सिरिजका जेट जहाजभन्दा न्यून इन्धन खपत गर्ने छ तर बुद्ध र यति एयरलाइन्स उडाइरहेका एटिआरभन्दा धेरै।
भारतीय सहरमा चार्टर्ड उडानका लागि सफल परीक्षण उडान गरिसकेको एयरलाइन्सले नियमित अन्तर्राष्ट्रिय उडानको लाइसेन्स पनि पाएको छ। श्रीसँग आज आएको जहाजसँगै ५ पुगेका छन्। श्रीसँग ५० सीट क्षमताका सिआरजे २०० जहाज २, ७० सीट क्षमताका सिआरजे ७०० जहाज २ र क्वू ४०० सिरिजको जहाज १ भएका छन्।