नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले जापान उडान तीन महिनापछि नाफामा जाने दाबी गरेका छन्। भदौ १२ देखि काठमाडौंबाट जापानको ओसाका नियमित उडान शुरु गर्न लागेको एयरलाइन्सले शुरुवाति केही उडान घाटामा गएपनि विस्तारै नाफामा जाने दाबी गरेको छ।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा खरेलले शुरुमै नाफामा जाने संसारमा कतै नहुने भन्दै केही महिनापछि नाफामा जाने दाबी गरे।
'संसारभरका एयरलाइन्सहरुले शुरुमा केही महिना उद्घाटन उडान नै भन्दैनन्। केहीना उडान गरेर व्यापार राम्रो भएपछिमात्र भन्ने चलन छ। तर हामीले शुरुमै त्यस्तो भनेका छौ। त्यही पनि हामीले शुरुमा ५० प्रतिशत अकुपेन्सी पायौ भने ठूलै सफलता हुने छ' उनले भने।
जापानमा उडान गर्दा शुरुमा केही उडानमा बुकिङ कमजोर रहेको छ। दसै र तिहारको समयमा राम्रो बुकिङ भएपनि कात्तिक पछिको भाडादर एयरलाइन्सले देखाउन सकेको छैन।
जापान उडान यात्रु नपाएमा करोड बढीको घाटा हुन्छ। यस्तोमा लामो समय घाटामा एयरलाइन्सले उडान गर्न नहुने संस्थामै आवाज उठ्ने गरेको छ। तर खरेल भने कम्तिमा छ महिना पर्खनुपर्ने दाबी गर्छन्।
उडान सफल बनाउन र एयरलाइन्सको विश्वासनीयता बढाउन आफूहरुले कुनै कसर बाँकी नराखेको बताउँदै खरेलले यसमा सबैको साथ र सहयोग चाहिएको बताए।
चिनियाँहरुले कानूनमात्र देखाए सद्भावन देखाएनन्
यसबीच खरेलले चीनको ग्वाङजाउ उडान गर्ने भनिएपनि चीनले अड्को थापेको आरोप लगाएका छन्। नेपालमा चिनियाँ एयरलाइन्सले लगातार उडान गरेपनि युरोपको सेफ्टी लिस्टलाई देखाएर अडिटको बहाना झिकेकाले ढिला भएको उनले बताए।
समानताको आधारमा नेपाली एयरलाइन्सलाई चीनमा उडान अनुमति दिनुपर्ने भनिएपनि विभिन्न बहना बनाएर चिनियाँ पक्ष उम्किन खोजेको उनले आरोप लगाए।