नेपालगञ्जको पाँचतारे होटल सोल्टी वेष्टेन्ड प्रिमियरमा क्यासिनो खुल्ने भएको छ। काठमाडौंको सोल्टी क्राउन प्लाजामा क्यासिनो चलाइरहेको इम्पेरियल इन्टरटेनमेन्टले क्यासिनो खोल्न लागेको हो।
उक्त कम्पनीले नेपालगञ्जमा क्यासिनो सञ्चालन गर्नका लागि उद्योग विभागमा दर्ता गरिसकेको छ।
होटलको बैंकेट हलमा क्यासिनो खोल्ने तयारी भइरहेको होटलका निर्देशक इन्द्र खड्काले जानकारी दिए। उनका अनुसार अहिले क्यासिनोका लागि फिनिसिङको काम धमाधम भइरहेको छ।
पछिल्लो समय भारतीय सिमाकासँग जोडिएका नेपाली सहरमा क्यासिनो खुल्ने लहर चलेको छ। भैरहवापछि नेपालगञ्जका होटलमा क्यासिनो खुल्ने क्रम बढेको छ।
नेपालगञ्जमा सोल्टीसहित २ पाँचतारे होटल सञ्चालनमा छन्। पाँचतारे बाहेकका अन्य होटलमा पनि क्यासिनो सञ्चालन भइरहेको छ।