हिमालय एयरलाइन्सले लोगो परिवर्तन गरेको छ। सन् २०१४ मा स्थापना भइ सन् २०१६ देखि नेपालबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको एयरलाइन्सले ब्रान्ड पहिचान परिवर्तन गरेको हो।
एयरलाइन्सले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नयाँ लोगो सार्वजनिक गरेको हो।
आगामी दिनमा नयाँ परिवेस तथा जाँगरका साथ काम गर्न नयाँ लोगो तथा ब्रान्ड पहिचान स्थापित गरिएको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए।
‘पाँच बर्षको अन्तरालमा हामीले सुरक्षा र विश्वसनीयताको प्रतिष्ठा निर्माण गरेका छौं । ब्रान्डलाई नयाँपन दिने सोच संस्थाको महत्वपूर्ण आन्तरिक परिवर्तन सँगै देखापरेको हो, जसले हामीलाई नयाँ लोगो निर्माण गर्ने बाटोतर्फ अग्रसर बनायो । सावधानीपूर्वक सोचपछि, हामीले उपयुक्त रणनीति अन्तर्गत नयाँ लोगो स्वीकार गर्ने निर्णय गर्यौं । हामीले संस्थाको प्रमुख आधारलाई नयाँ लोगोमा प्रतिबिम्बित गर्न चाहनुका साथै आगामी दिनमा पनि निरन्तर अगाडि बढ्ने अठोट संकल्प व्यक्त गर्न चाहेका छौं’ श्रेष्ठले भने।
हिमालय एयरलाइन्समा लगानीकर्ता फेरिएसँगै लोगो पनि परिवर्तन गरिएको हो। हिमालयको विदेशी साझेदार परिवर्तन हुने प्रक्रियामा छ।