केही दिनदेखिको झरीले झापाका बजार सुनसान बनेका छन्। सबैभन्दा धेरै व्यावसायिक कारोबार हुने सिजनका रुपमा लिइएको दसैंको बजार वर्षाका कारण यस वर्ष भने नराम्ररी प्रभावित बनेको का हुन्। बजारमा व्यवसायिक कारोबार अत्यन्तै न्यून रहेको व्यवसायीहरूले बताएका छन्।
अघिल्ला वर्षहरूमा घटस्थापना अघिदेखि नै बजारमा लत्ताकपडा, किराना पसल तथा सपिङ सेन्टरहरूमा ग्राहकको चहलपहल हुने गरेको थियो। घटस्थापनासँगै फलफूूल तथा तरकारी बजारमा समेत क्रेताहरूको घुइँचो लाग्ने गरेको थियो।
तर, असोजको दोस्रो सातादेखि मौसम प्रतिकूूल बनेपछि जिल्लाको दसैं बजार नराम्ररी प्रभावित भएको स्थानीय व्यवसायीले बताए।
झरी परेपछि दमक बजारमा दसंैका लागि उपभोग्य वस्तु खरिद गर्नेको उल्लेख्य चहलपहल हुन नसकेको सिग्देल डिपार्टमेन्ट स्टोरका सञ्चालक लोकनाथ सिग्देलले बताए।
सोह्रश्राद्धमै पनि व्यापार सन्तोषजनक थिएन। दुई–तीन दिनदेखिको पानीले त झनै व्यापार चौपट भएको उनले बताए।
भद्रपुर, विर्तामोड, धुलाबारी, शनिश्चरे, गौरादह, गौरीगञ्ज, झिलझिले, शिवगञ्ज लगायतका ठूला बजार दसैंको झरीले प्रभावित भएका छन्।
दसैंका लागि किनमेल गर्ने ग्राहकको भीड लाग्न नसक्दा नेपालका ठूूला बजारबाट खरिद गरेर ल्याएका वस्तुको व्यापार हुन नसकेको झिलझिलेकी व्यापारी सृजना महतले बताइन्। दसैं भित्रिसके पनि बजारमा ग्राहक नभित्रिएका कारण झापाका व्यापारी यो वर्ष निराश देखिएका छन्।
बजारमा किरानामा मात्रै नभएर लत्ताकपडा तथा अन्य फेन्सी सामानको प्यापार हुन नसकेको दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य ज्ञानु पौडेलले बताए।