भूकम्पपछि बन्द भएको काठमाडौंको पाँचतारे होटल एभरेष्ट सञ्चालन भएको छ। भूकम्पपछि रातो स्टिकर लगाएपछि बन्द भएको होटल मुद्दा मामिला र मजदुर व्यवस्थापन विवादले रोकिएको थियो।
श्रम समस्या समाधान भएपछि व्यवस्थापनले होटल पुन: सञ्चालनमा ल्याएको हो।
होटलका व्यवस्थापक नारायण पौडेलका अनुसार होटल अहिले आंशिक रुपमा खुला भएको छ। १६० कोठा भएको होटलको पुनर्निर्माणको काम जारी छ। लवी र केही कोठाको काम सकिएपछि होटल सञ्चालनमा ल्याइएको पौडेलले जानकारी दिए।
भवनका कारण भन्दा श्रम बिवादका कारण होटल लामो समयदेखि बन्द थियो।
होटलमा कार्यरत मजदुरहरुले सेवा सुविधा निरन्तरताको माग गर्दै श्रम अदालत गएका थिए। उनीहरुले त्यहाँबाट जितेपछि व्यवस्थापनले अदालतमा मुद्दा दायर गरेको थियो।
गएको फागुनमा व्यवस्थापन र मजदुरबीच सहमति भएपछि व्यवस्थापनले मुद्दा फिर्ता लिएको थियो। सहमतिअनुसार व्यवस्थापनले होटल बन्द भएदेखिको तलब भत्ता उपलब्ध गराउने, तलबमा ५ प्रतिशत बृद्धि भएको छ।
होटल सञ्चालनमा ल्याउन भन्दै व्यवस्थापनले नयाँ कर्मचारी पनि भर्ना गरिसकेको छ।