नेपाली एयरलाइन्सलाई चीन उडानका लागि सहज हुने भएको छ।
चिनियाँ राष्ट्रपतिको दुई दिने राजकीय भ्रमणका क्रममा चिनियाँ पक्षले नेपाली एयरलाइन्सलाई चीन उडानका लागि सहज वातावरण बनाइदिने प्रतिबद्धता जनाएको छ।
राष्ट्रपतिको भ्रमणपछि प्रकाशित संयुक्त वक्तव्यमा पनि दुवै देशका एयरलाइन्सलाई सिधा उडानका लागि प्रवर्द्धन गर्न दुवै पक्ष सहमत भएको उल्लेख गरिएको छ।
वार्ताका क्रममा चिनियाँ पक्षले नेपाली एयरलाइन्सलाई चीनका विभिन्न विमानस्थलमा छिटो उडान अनुमति दिन सकारात्मक भएको हो।
वार्तामा सहभागी एक सरकारी अधिकारीका अनुसार एयरलाइन्सहरुले मौजुदा आवश्यक प्रक्रिया पूरा गरेमा तत्काल उडान अनुमति दिन कुनै समस्या नभएको चिनियाँ अधिकारीहरूले बताएका थिए।
'युरोपियन युनियनको कालोसूचीलाई देखाएर चिनियाँ पक्षले अनुमति दिन आनाकानी गरेको हो कि भन्ने हाम्रो पनि आशंका थियो। तर उहाँहरूले त्यस्तो कुनै कारण नभएको खाली नेपाली एयरलाइन्सले प्रक्रिया पूरा गरेर आए उडान अनुमति तत्काल दिइने बताउनुभयो,' वार्तामा सहभागी एक अधिकारीले भने,'हिमालय एयरलाइन्सले बेइजिङमा अनुमति पाइसकेको र अरु सहरमा पनि अनुमतिको अन्तिम चरणमा भएको र नेपाल एयरलाइन्स पनि ग्वाङजाउमा अनुमति पाउने अन्तिम चरणमा भएकाले नियतबस अनुमति नदिएको भन्ने साँचो नभएको हामीलाई आश्वस्त पार्नुभयो।'
हिमालय एयरलाइन्सले यही कात्तिकबाटै बेइजिङको डाक्सिङ विमानस्थलमा उडान सुरू गर्ने तयारी गरेको छ। त्योसँगै हिमालयले चीनका अन्य आधा दर्जन सहरमा पनि उडानका लागि तयारी तीव्र बनाएको छ।