फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा लिएको लक्ष्यभन्दा बढीको कारोवार भएको छ।
शुक्रवारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा शुरु भएको १३ औँ पुष्प मेलामा साढे ५६ लाख रुपियाँको कारोबार भयो। चारदिनसम्म चल्ने मेलामा ५० लाखको कारोबार गर्ने लक्ष्य लिएको थियो तर आइतवार तेस्रो दिनमा नै साढे ५६ लाख रुपियाँको कारोबार भएको फ्यानका महासचिव विश्वमणि पौडेलले जानकारी दिए।
पहिलो दिन छ हजार पाँच सयजनाले अवलोकन गरेका थिए जसमा १२ लाख रूपैयाँको कारोवार भएको थियो। शनिवार १५ हजारजनाले अवलोकन गरेका थिए, जसमा २५ लाख रूपैयाँ बाराबरको कारोबार भएको आयोजकले जानकारी दिए।
आयोजकका अनुसार आइतवार १० हजारले मेला अवलोकन गरे। जसमा साढे १९ लाख रूपैयाँको कारोबार भएको छ। सोमवार अन्तिम दिन कारोबार झनै बढ्ने अनुमान आयोजकले गरेको छ।
विगतको अनुभव हेर्दा अन्तिम दिन अवलोकनकर्ताहरु अलि बढी आउने गरेको र कारोवार पनि बढी हुने गरेको उनी बताउँछन्।
प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल रहेका छन्। यसवर्षको मेलामा विभिन्न मुलुकबाट माउबोटका रुपमा आयात गरी उत्पादन विस्तार गरिएका करिब १६ नयाँ प्रजातिका गोदावरी फूलसमेत प्रदर्शनीमा राखिएको छ।