व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले व्यापार घाटा घटाउने उद्देश्यले प्रदेशअनुसार मुख्य उत्पादनको सूची तयार गरेको छ।
प्रदेशगत रुपमा मुख्य उत्पादन हुने वस्तुको पहिचान भई निर्यात समेत गर्न सकिनेगरी सूची तयार पारिएको केन्द्रले जनाएको छ। यी उत्पादनले आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने केन्द्रकी सूचना अधिकारी शान्ति देवी मल्लले बताइन्।
‘मुख्य उत्पादनअनुसार प्रदेशलाई आवश्यक नीति तर्जुमा गर्न र के उत्पादन गर्दा फाइदा हुन्छ भन्ने कुरा किसानले सूची हेरेर थाहा पाउन सक्छन्’ उनले भनिन्।
केन्द्रको अध्ययनअनुसार प्रदेश १ मा उत्पादन हुने प्रमुख कृषि वस्तुहरूमा धान, चामल, गहुँ, मकै, कोदो, फापर, जौ, ताजा तारकारी, फलफूल, दलहन, तेलहन रहेका छन्।
त्यसैगरी, अन्तर प्रदेश व्यापार हुने प्रमुख औद्योगिक वस्तुहरूमा कागज, तयारी पोशाक, जुत्ता, फर्निचर, खेलौना, कलम, पेन्सिल, प्लाष्टिकका भाडाकुँडा, टुथपेष्ट, साबुन, सेम्फु, स्प्रिट, मदिरा, विस्कुट, इलेक्ट्रिक भेहिकल, विजुलीका सामानहरू, प्लाइउड, खानेतेल, प्रशोधित पेट्रोलियम, फलाम तथा स्टिलका उत्पादनहरू रहेका छन्।
प्रदेश १ बाट निकासी हुने प्रमुख वस्तुहरूमा चिया, अलैंची, अदुवा, अम्रिसो, रुद्राक्ष, सुपारी, ताजा तरकारी, छुर्पी, चिज, चिराइतो, धागो, जुटका सामान, छालाका सामान र जस्तापाता रहेका छन्।
प्रदेश २ कृषिका लागि प्रमुख क्षेत्र मानिन्छ। यहाँबाट निकासी गर्न सकिने उत्पादनमा धान, चमल, गहुँ, मकै, उखु, आलु, चिनी, आँप, माछा, तरकारी, पीना, केराउको कोसा, सारतेल, आलस, तोरी, धागो, छाला र खरबुजा रहेको केन्द्रको अध्ययनले देखाएको छ।
त्यस्तै, यस प्रदेशबाट आयात प्रतिस्थापन गर्न सकिने वस्तुहरूमा दलहन, तेलहन, तरकारी, फलफूल, केरा, मासु, मसला, जुस, दुग्ध पदार्थ, फूल, पशु आहार, काठ, कागज, सिमेन्ट, सिमेन्ट क्लिंकर, औषधि, तयारी पोशाक, सेरामिक्सका उत्पादनहरू, फर्निचर, छालाका सामानहरू, स्प्रिट र मदिरा रहेको छ।
३ नम्बर प्रदेशमा धान, चमल, गहुँ, मकै, जैविक तरकारी, जडिबुटी लगायत कृषिजन्य वस्तु उत्पादन गर्न सकिन्छ। औद्योगिक उत्पादनमा नेपाली गलैंचा, तयारी पोशाक, फेल्टका वस्तुहरू, हस्तकलाका सामग्री निर्यात गर्न सकिने वस्तुको रुपमा पहिचान गरिएको छ।
यस प्रदेशबाट आयात प्रतिस्थापन गर्न सकिने वस्तु तथा सेवाहरूमा तयारी पोशाक, दैनिक उपभोग्य सामानहरू, प्लाष्टिकका सामानहरू, फर्निचर, तेल, मकै, गहुँ तथा दूग्ध पदार्थ, हस्तकलाका सामाग्री, सूचना प्रविधि र विजुली रहेको छ।
त्यस्तै गलैँचा, तयारी पोशाक, हस्तकलाका सामाग्री, प्लाष्टिकका सामाग्री, फर्निचर, तेल, मकै, जौ तथा फापर, कोदो, गहुँ, दूध तथा दूधजन्य पदार्थ, चाउचाउ, आलु चिप्स, दन्तमञ्जन र तेल निर्यात गर्न सकिने वस्तु अन्तर्गत पर्दछ।
अन्तरप्रदेश व्यापार सम्भावना भएका वस्तु तथा सेवाहरूमा छाला, धान, दाल, मासु, अन्य खाद्यान्न, काठ, रोजिन, दाउरा, तयारी पोशाक, गलैंचा, धागो, तेल, प्लाष्टिकका सामान रहेको छ।
गण्डकी प्रदेशमा धान चामल, गहुँ, मकै, कोदो, फापर, जौ, उवा, स्याउ, सुन्तला, अलैँची, अदुवा, लसुन, प्याज, खुर्सानी, कफी, उखु, ऊन, माछा, मह, जडिबुटी, लप्सी उत्पादन हुने गर्दछ। त्यस्तै, सिमेन्ट, फलाम, सुन, तामा, स्लेट, कोइला, जिंक, ग्रेनाइट, टल्क, सिसा, नुन आदि खनिजजन्य उत्पादन राम्रो हुने संभावन रहेको केन्द्रको अध्ययनले देखाएको छ।
गण्डकी प्रदेशमा अन्तर प्रादेशिक व्यापार सम्भावना भएका वस्तुमा गहुँ, मकै, कोदो, फापर, जौ, उवा, स्याउ, सुन्तला, लप्सीका परिकार, लसुन, प्याज, खुर्सानी, चाउचाउ, चकलेट, पानी पहिचान गरिएको छ।
गण्डकी प्रदेशमा पर्यटकीय गन्तव्य मान्ने भएकाले प्याराग्लाइडिङ, होटल, होमस्टे विकास गर्न सकिने बताइएको छ। धान, मकै, स्याउ, सुन्तला, माछा, लसुन, प्याज, खुर्सानी, मह, ऊन, फलाम, सिमेन्ट, चाउचाउ, चकलेट जस्ता वस्तुको उत्पादन गरी आयात प्रतिस्थापन गर्न सकिने बताइएको छ।
जडिबुटी, अलैँची, अदुवा, स्याउ, कफी, मह, पानीलाई निर्यातयोग्य वस्तुको रुपमा पहिचान गरिइको छ। रोजिन र रेजिन कत्था, सारयुक्त तेल, पोलिष्टर धागो, पिपी ओभन फेब्रिक, पिना र ढुटो, चाउचाउ, कपडा, मुसुरो, कफी, अदुवा, बेसार, जडिबुटी अन्तर्गत टिमुर, चुत्रो, पाखनवेद, सिस्नु, धुपी, तेजपात, डालेचुक आदि प्रदेश ५ मा निर्यात गर्न सकिने सम्भावित वस्तु तथा सेवाहरूमा रहेका छन्।
कर्णाली प्रदेशबाट अदुवा, विभिन्न प्रकारका जडिबुटीहरू, रत्नपत्थर, गलैंचा, प्राकृतिक रेशाजन्य कपडा, टिमुर निर्यात हुँदै आएका छन्। बेसार, प्राकृतिक रेशाजन्य वस्तुहरू, मह, अलैंची, दूधजन्य पदार्थ, खनिजजन्य वस्तुहरूलाई निर्यातजन्य वस्तु भनेर पहिचान गरिएको छ।
कर्णाली प्रदेशबाट अन्तर प्रदेश व्यापार तथा आयात प्रतिस्थापन गर्न सकिने वस्तुमा मकै, गहुँ, जौ, फापर, तेलहनबाली, दलहनबाली, सिमेन्टका कच्चापदार्थ, मासु तथा दूधजन्य वस्तु, छालाका सामानहरू, तरकारी, फलफूल आदिलाई भनिएको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशबाट आयात प्रतिस्थापन गर्न सकिने वस्तुमा बाख्रा, माछा, मासु, दुग्धजन्य पदार्थ, अण्डा, मह, वनस्पति उत्पादनहरू, फूल तथा विरुवाहरू, दलहन, तेहलन, मसलाजन्य, खाद्यान्न, फलफूल, तरकारी लगायतका वस्तुहरूलाई राखिएको छ।
त्यसैगरी, भैसीको दूध र यसबाट उत्पादन हुने वस्तुहरू, काठजन्य वस्तुहरू, आयुर्वेदिक श्रृंगारका सामाग्रीहरू, तयारी खाद्य तथा पेय पदार्थ, वनस्पतिजन्य उत्पादन र हस्तकलाका सामग्रीहरूलाई निर्यात गर्न सकिने वस्तुको रूपमा पहिचान गरिएको छ।
सूची सम्बन्धित मन्त्रालय र प्रदेशमा पठाइसकेको केन्द्रले जानकारी दिएको छ।