चौधरी ग्रुपले काजकस्थानबाट पनि वाइवाइ चाउचाउ उत्पादन सुरू गरेको छ। मध्य एसियाली मुलुक काजकस्थानमा निर्मित वाइवाइको प्लान्टको त्यहाँका प्रधानमन्त्रीले आज उद्घाटन गरेका छन्।
उत्पादन प्लान्ट आजदेखि उद्घाटन गरिएको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक सञ्जालबाट जानकारी गराएका छन्।
यो प्लान्टबाट उत्पादन हुने उत्पादन मध्य एसियाली क्षेत्रमा जाने उनले जानकारी दिए। भारतबाहेक यो वाइवाइको तेस्रो ग्लोबल प्लान्ट हो। बंगलादेश र सर्बियामा यसअघि नै उत्पादन सुरू भइसक्यो। नेपालमा ९ र भारतमा ११ वटा प्लान्ट सञ्चालित छन्।
हाल विश्वभर वर्षमा ३ अर्ब प्याकेट बिक्री भइरहेको वाइवाइले विश्व तयारी चाउचाउ बजारको ३ प्रतिशत हिस्सा ओगटेको छ। वाइवाइले भारतीय तयारी चाउचाउ बजारमा ३० प्रतिशत हिस्सा ओगटेको छ।
चौधरी ग्रुपले खाडी मुलुकहरूलाई लक्ष्य गरेर इजिप्ट र अमेरिका, क्यानडा लगायत उत्तर अमेरिकी बजारको निम्ति मेक्सिकोमा प्लान्ट स्थापना गर्ने तयारी गरेको छ। त्यस्तै, युरेसिया बजारलाई लक्ष्य गरी रूसमा थप प्लान्ट राख्ने योजना पनि छ। यी ठाउँमा प्लान्ट स्थापनापछि विश्वव्यापी बनाउने लक्ष्य पूरा हुने चौधरी ग्रुपले जनाएको छ।
नेपालका एक मात्र ‘फोर्ब्स’ सूचीकृत अर्बपति विनोद चौधरीले २०४१ सालमा थाइल्यान्डबाट वाइवाइ भित्र्याएका हुन्। त्यतिबेलै उनले यसको अन्तर्राष्ट्रिय ब्रान्ड अधिकार आफूसँगै ल्याएका थिए। यो तीन दशक अवधिमा ललितपुरको भैंसेपाटीबाट सुरु भएको वाइवाइ नवलपरासीको उद्योग ग्राम हुँदै बर्दियासम्म फैलिएको छ। पूर्वी क्षेत्रका लागि सुनसनरीको इटहरी नजिकै छुट्टै प्लान्ट राखेर उत्पालन सुरू गरिसकेको छ।
सन् २०२२ भित्र विश्व तयारी चाउचाउ बजारको ५ प्रतिशत हिस्सा ओगट्ने लक्ष्यका साथ नयाँ नयाँ प्लान्ट राख्ने क्रम जारी रहेको कम्पनीले जनाएको छ।