विभिन्न मुलुकबाट आयात हुने ४९ वटा खाद्य पदार्थको आयात अस्वीकृत गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालू आर्थिक वर्ष २०७६/०७७ को प्रथम चौमासिकमा उक्त संख्याको खाद्य पदार्थ अस्वीकृत गरेको हो।
आवश्यक कागजात पूरा नभएका कन्फेक्सनरी, पेय पदार्थ लगायतका विविध खाद्य पदार्थहरूको आयात अस्वीकृत गरिएको विभागका प्रवक्ता मोहन महर्जनले बताए।
खाद्य आयात/निर्यात निरीक्षण तथा गुण प्रमाणीकरण प्रणालीसम्बन्धी निर्देशिकाले व्यवस्था गरे अनुरूप आयात गर्नुपूर्व अनिवार्यरूपमा अनुमति लिनुपर्ने व्यवस्था रहेको छ।
चालू आवको साउनदेखि कात्तिकसम्ममा कुल ७ हजार ७ सय ७२ वस्तुको आयात जारी गरिएको छ।