नेपाल वायुसेवा निगमले साढे दुई महिनापछि अर्थात मार्चदेखि जापानको नारिता र चीनको ग्वाञ्जाउमा उडान थाल्ने भएको छ।
जापानको नारितामा मार्चको पहिलो साताबाट र चीनको ग्वाञ्जाउमा मार्चको दोश्रो सातादेखि उडान गर्ने निगमले जनाएको छ।
आइतबार बसेको कार्यकारी समितिको बैठकले हाल उडान गरी रहेको अन्तर्राष्ट्रिय गन्तव्यका अतिरिक्त थप दुई गन्तव्यमा उडान गर्ने निर्णय गरेको हो।
नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै उडान सुरु हुने भएकाले यसले पर्यटन क्षेत्रलाई समेत टेवा पुग्ने निगमले जनाएको छ।
यी दुई गन्तव्यको उडान थपिए पछि ए ३२० न्यारोवडी र ए३३० वाइडवडीको उडान वृद्धि भै पूर्ण उपयोगमा आउने छन्।
निगमका हाल अन्तर्राष्ट्रिय गन्तव्यमा भारतको दिल्ली, बैंगलौर, मुम्वई, बैंकक, मलेसिया, दुवई, दोहा र हङकङ छन्। दुई थप भएपछि अन्तर्राष्ट्रिय स्तरमा १० गन्तव्य हुनेछन्।
निगमसँग हाल दुई ए३२० न्यारोवडी र दुई ए३३० वाइडवडी विमानहरु रहेका छन्।