राष्ट्रिय ध्वजावाहक नेपाल एयरलायन्सका कार्यकारी अध्यक्ष मदन खरेललाई स्पष्टिकरण सोधिएको छ। नेपाल एयरलाइन्सको सुधार गर्ने बाचासहित नियुक्ति लिएर आएका खरेललाई सञ्चालक समितिले स्पष्टिकरण सोधेको हो।
सञ्चालक समितिको शुक्रबारको बैठकले अध्यक्षलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए।
अध्यक्ष भएर आएको एक वर्षसम्म पनि संस्थाको आय बढाउने तथा व्यापार विस्तार भन्दा पनि सामन्य जागिरमै मस्त रहेको सञ्चालक समितले आरोप लगाएको छ।
साउदी अरबको जिएसए नियुक्तीमा अनावस्यक ढिलासुस्ती गरेको,आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ जहाज उडान नसकेको,जापानको नारिता उडानका लागि तयारी गर्न समय लिएर मनलाग्दी ओसाका उडान गरेर संस्थालाई आर्थिक नोक्सानी गराएको जस्ता आरोप समितिले लगाएको छ।
समितिले पाँच बुँदे स्पष्टिकरणमा अध्यक्ष खरेलले सञ्चालन बोर्डमा पेस गरेको एजेन्डमा कसरी असहयोग भएको, बोर्डबाट निर्णय नहुँदा निगमको कुन काममा ढिलाइ भएको, बोर्डको बैठकमा कुन सदस्यले अनुपस्थिती जनाएर असहयोग गरी बोर्ड बैठक बस्न नसकेको अवस्थमा रहेको सोको विवरण पेस गर्न निर्देशन दिएको छ।
त्यस्तै निगमको वाइडबडी सञ्चालन सम्बन्धी तयार गरिएको व्यापारिक योजनामा जापानको टोकियोका उडान गर्ने योजना रहेको तर, नेपाल जापान बीच हवाई सम्झौता नवीकरणको दौरान टोकियोमा स्लट नपाउने, नारितामा पाउने भएपछि प्रधानमन्त्री, परराष्ट्र मन्त्रालयको राय सुझावसमेतको आधारमा जापानको नारिताको जिएसए नियुक्ति छनौटको प्रस्तावमा स्वीकृत भएको अवस्थमा नारिता छोडेर ओसाका उडान गर्नुको कारण र ओसाका उडानको क्षति विवरण र त्यसको जवाफदेही को हुन्छ? भनेर सोधिएको छ।
खरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले २०२७५ साल असोजमा नियक्त गरेका थिए।
सम्बन्धित: