उद्योगहरुको अवस्था, समस्या पहिचान तथा निराकरणका लागि बुटवलमा प्रदेशस्तरीय उद्यमी सम्मेलन हुने भएको छ।
विभिन्न व्यवसायिक संस्थाहरुको आयोजनामा आउने वैशाख २६ गते उद्यमी सम्मेलन गर्ने गरी मिति तय भएको रुपन्देही उद्योग संघले जनाएको छ।
नेपाल उद्योग परिसंघ र रुपन्देही उद्योग संघसँगको समन्वयमा विशाल मिडिया ग्रुपले सम्मेलनको तयारी गरेको रुपन्देही उद्योग संघका अध्यक्ष बावुराम बोहोराले जानकारी दिए।
सम्मेलनमा प्रदेश ५ का १२ जिल्लासँगै देशभरीका उद्यमी व्यवसायीहरुको सहभागिता रहने छ। उक्त सम्मेलनमा उद्योग र उद्यमीका समस्याहरुबारे छलफल हुने छ।
प्रदेशभित्रको लगानी, उद्यमशीलताको अवस्था र यस क्षेत्रको आर्थिक विकासका लागि सरकारले गरिरहेको कामको बारेमा समेत जानकारी सहित छलफल गरिने संघका अध्यक्ष बोहोराले जानकारी दिए।
प्रदेश सरकारले लगानीका लागि आह्वान गर्ने र यसको लागि सरकारले सहजीकरण समेत गर्ने भएकोले यो मिनी लगानी सम्मेलन भएको विशाल मिडिया ग्रुपका कार्यकारी निर्देशक विशाल गैरेको दावी छ।
प्रादेशिक संरचनाभित्र उद्यमशीलताका नविनतम अवसरको खोजी गर्ने, स्टार्ट–अप कम्पनी र लगानीबारे छलफल चलाउने र लगानी जुटाइदिने तथा सरकार र युवा उद्यमीबीच छलफलको वातावरण निर्माण गर्ने अवसरको रुपमा सम्मेलनलाई लिइएको नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले बताए।
सम्मेलनमा उद्यमशिलतामा रुची राख्ने युवा, विद्यार्थी, उद्यमी, लगानीकर्तासहित प्रदेशभित्रका ४ सय उद्यमी तथा प्रदेश बाहिरका १ सय उद्यमी गरी ५ सय जनाको सहभागिता रहने जनाइएको छ।
रुपन्देही उद्योग संघका कार्यकारी अधिकृत यादव भण्डारीले प्रदेशको उद्यमशीलतामा काम गरिरहेका दातृ संस्थालाई समेत सहकार्यमा जोड्ने गरी कार्यक्रम व्यवस्थापनको तयारीमा रहेको बताए।
सम्मेलनबाट प्रदेशभित्र लगानी बढाउन, पर्यटनका माध्यमबाट उद्यमलाई प्रोत्साहन गर्न र नेपाल भ्रमणवर्ष २०२० तथा लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउन सघाउ पुग्ने अपेक्षा गरिएकोे छ।