पछिल्लो समय भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि चिनियाँ प्याजले नेपाली बजार ढाकेको छ।
मंसिर महिनामा मात्रै चीनबाट १० लाख १४ हजार किलो प्याज भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिएको छ।
गत असोजमा भारतले औपचारिकरूपमा प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि चिनियाँ प्याजको आयात बढेको हो। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउनुअघि चीनबाट औषतमा १० हजार किलो मात्रै प्याज भित्रिन्थ्यो।
गत भदौमा नेपालमा ८ हजार किलो चिनियाँ प्याज आयात भएको थियो। असोजसम्ममा त्यो दर बढेर ४१ हजार किलो पुग्यो भने कात्तिकसम्ममा ५१ हजार किलो चिनियाँ प्याज आयात भयो।
प्रतिबन्ध लगाए पनि मंसिरमा भारतबाट १० हजार किलो प्याज आयात भएको छ। असोजमा भने २० हजार किलो प्याज आयात भएको थियो।
त्यसअघि भने नेपाली प्याजको बजार भारतमै निर्भर थियो। नेपाली बजारमा पाइने प्याजमा ९० प्रतिशत हिस्सा भारतीय प्याजको रहेको जानकारहरू बताउँछन्।
यो वर्ष अत्यधिक वर्षाका कारण प्याजको उत्पादन घटेपछि भारतीय बजारमै प्याजको हाहाकार भयो र मूल्य आकासिएको थियो।
गत असोजदेखि भारत सरकारले मूल्य नियन्त्रण गर्न भन्दै प्याजको निर्यातमा प्रतिबन्ध लगायो। त्यसयता भारतबाट आउने प्याजमा कमी आएको हो।
चीनबाट प्याज आयात हुन थालेपछि भने नेपाली बजारमा प्याजको मूल्य भने घटेको छ। कुनै बेला २ सय ६० रुपैयाँ पुगेको प्याजको मूल्य अहिले १ सय ८० रुपैयाँमा झरेको छ।