प्रमुख नगदेबाली अदुवाको ट्रेडमार्कका लगि पहल सुरू भएको छ। नेपाल अदुवा उत्पादक तथा व्यवसायी सङ्घ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा अदुवाको ट्रेडमार्कको लागि पहल भएको हो।
अदुवाको निर्यात बढाउन ट्रेडमार्क लिन लागिएको सङ्घका सचिव हेमन्तराज बोहोराले जानकारी दिए।
‘हामी विगत ३/४ वर्षदेखि अन्तर्राष्ट्रिय ब्यापार मेलामा गएका छौं, विकसित मुलुकले ट्रेडमार्क नभई सामान निर्यात नगर्ने देखेपछि हामीले अदुवाको ट्रेडमार्क लिन पहल गरेका हौं,’ उनले भने।
उनकाअनुसार ५/६ महिना भित्रमा नेपालमा अदुवाको ट्रेडमार्क दर्ता हुन्छ। जुन देशमा अदुवा निर्यात गर्ने हो, उक्त देशमा पनि ट्रेडमार्क दर्ता गर्नुपर्ने हुन्छ। त्यसका लागि भने वाणिज्य मन्त्रालयले सहयोग गर्ने उनले बताए।
हाल अदुवा ट्रेडमार्क आवश्यक नपर्ने भारत र बङ्गलादेशमा निर्यात हुँदै आएको छ।
नेपालबाट आयातित अदुवा भारतले आफ्नो ट्रेडमार्क राखेर अन्य देशमा निर्यात गर्दै आएको छ। नेपालमा उत्पादित अदुवा गुणस्तरीय भएकाले विभिन्न देशमा पुगेपनि लोगो नभएका कारण आफ्नो भन्न नसकिएको उनी बताउँछन्।
आफ्नो ट्रेडमार्क लिइसकेपछि बजार विस्तार गर्न सहज हुने उनले बताए।
विकसित मुलुक जापान, अमेरिका लगायतले नेपालको अदुवा निर्यातका लागि चासो देखाएको उनले बताए।
केही समय अघि जापानका कृषि वैज्ञानिक नेपाल आएको उनले जानकारी दिए।