भारतमा महंगी अत्याधिक बढेको देखिएको छ। भारत सरकारले सोमबार सार्वजनिक गरेको रिपोर्टमा पछिल्लो समय मूल्यवृद्धि उच्च देखिएकाे हाे।
भारतीय संचार माध्यमका अनुसार डिसेम्बरको अन्तसम्ममा भारतमा देखिएको मूल्यवृद्धि पछिल्लो ५ वर्षकै सबैभन्दा उच्च हो।
डिसेम्बरसम्मको तथ्याङकमा भारतमा खुद्रा महंगी दर ७.३५ प्रतिशत पुगेको छ। नोभेम्बरसम्म ५.५४ प्रतिशतमा रहेको महंगी एक महिनामा तीब्र भएको छ।
उक्त अवधिमा सबैभन्दा बढी तरकारीको मूल्य बढेको रिपोर्टमा उल्लेख छ। यसबीचमा तरकारीको मूल्य ६०.५ प्रतिशतले बढेको छ। प्याजको मूल्यमा भएको उच्च वृद्धिले तरकारीको मूल्य बढेको रिपोर्टमा बताइएको छ। गत सिजनमा प्याजको उत्पादन ४० प्रतिशतसम्म कमी आएपछि भारतमा प्याजको मूल्य बढेको थियो।
तरकारीकै मूल्यवृद्धिले गर्दा समग्र मूल्यवृद्धि देखाएको भारतीय अर्थशास्त्रीहरुले बताएका छन्। तरकारी बाहेक खाद्यान्नको मूल्यवृद्धि पनि १४.१२ प्रतिशतले बढेको छ। तर, पेट्रोलियम पदार्थ तथा उपभोग्य अन्य वस्तुमा भने मूल्यवृद्धि देखिएको छैन।
नेपालमा कस्तो असर पर्छ?
नेपालमा अहिले आफैंमा उच्च मूल्यवृद्धि छ। मुद्रास्फ्रिती साढे ५ प्रतिशत भित्र राख्ने सरकारको योजना भएपनि पछिल्लो चार महिनामा ६.२७ प्रतिशत मुद्रास्फ्रिती रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपालमा खाद्य पदार्थको मुद्रास्फ्रिती उच्च छ।
त्यसमाथि भारतमा भएको मूल्यवृद्धिले नेपालमा अझै मूल्य बढ्न सकिन्छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष तथा राष्ट्र बैंकले गरेको विभिन्न अध्ययनकाअनुसार नेपालको मूल्यवृद्धिमा भारतमा भएको मूल्यवृद्धिले ६० देखि ७० प्रतिशतसम्म प्रभाव पार्ने बताएको छ।
त्यसैले पनि भारतमा पछिल्लो समय देखिएको मूल्यवृद्धिले नेपालमा असर पार्नसक्छ।
अर्थशास्त्री विसाल चालिसे भारतमा भएको मूल्यवृद्धिले नेपाली अर्थतन्त्रमा सिधा असर गर्ने बताउँछन्।
‘भारतको मुद्रास्फ्रितीको असर नेपाली अर्थतन्त्रमा देखिन्छ, तर त्यहाँ कस्तो वस्तुको मूल्यवृद्धि भइरहेको छ भन्ने पनि भर पर्छ,’ उनले भने।
नेपाल राष्ट्र बैंकका निर्देशक सिद्धराज भट्ट भारतमा कुन वस्तुको मूल्य बढेको हो भन्नेले ठुलो अर्थ राख्ने बताउँछन्।
‘अहिले तरकारीको मूल्य बढेको छ,’ उनले भने, ‘नेपालमा १२ अर्बको आयात हुने तरकारीको मूल्यमा भएको वृद्धिले अर्थतन्त्रलाई नै ठूलो फरक पार्दैन।’
भारतबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थको पदार्थको आयात हुने हुनाले नेपालमा त्यसको ठूलो असर पर्ने उनले बताए।
‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि हरेक १५ दिनमा देखिने भएपनि अन्य वस्तुको मूल्यवृद्धि नेपालमा देखिन केही समय लाग्छ,’ उनले भने।
तर, भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि नभएकाले नेपालमा भारतको मूल्यवृद्धिको असर नपर्ने उनको भनाइ छ।