पछिल्लो समय नेपालमा वैदेशिक लगानी प्रतिबद्धता बढ्दै गएको छ।
चालू आर्थिक वर्ष २०७६/०७७ को ६ महिनामा २७ अर्ब ६८ करोड रूपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ।
विभिन्न देशका लगानीकर्ताले उद्योग विभागमार्फत् १ सय ५० वटा उद्योगका लागि सो बराबरको वैदेशिक लगानी प्रतिबद्धता जनाएका हुन्।
गत आव २०७५/०७६ को सोही अवधिको तुलनामा यो १ सय ७० प्रतिशतले बढी हो।
गत आवको साउनदेखि पुससम्ममा १० अर्ब २४ करोड रूपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ।
विभिन्न देशका लगानीकर्ताले १ सय ९४ वटा उद्योग सञ्चालनका लागि सो बराबरको लगानी प्रतिबद्धता जनाएका हुन्।
नेपालमा वैदेशिक लगानीको वातावरण बन्दै गएकाले विदेशी लगानी बढ्न थालेको विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बताए।
‘अहिले हामीले लगानीकर्तालाई सहज होस् भनेर विभिन्न ऐन संशोधन गरिसकेका छौँ, यसले पनि विदेशी लगानीकर्ता आकर्षण भएका छन्’, उनले भने।
चालू आवको ६ महिनामा विभागमा दर्ता भएका १ सय ५० उद्योगमध्ये सबैभन्दा बढी लगानीको आकर्षण क्षेत्र पर्यटन बनेको छ। पर्यटनमूलक उद्योगका लागि ६० वटा उद्योग दर्ता भएका छन्।
विगतका वर्षहरूमा उत्पादनमूलक क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण देखिन्थ्यो। अहिले लगानीकर्ताहरू उत्पादनमूलक क्षेत्रलाई छोडेर पर्यटन क्षेत्रमा लगानी गर्न आकर्षित भएका छन्। दोस्रोमा सेवामूलक उद्योगका लागि ३८ वटा प्रस्ताव आएको छ।
त्यस्तै, सूचना प्रविधिका २५, उत्पादनमूलकका १९, ऊर्जामूलकका ५ कृषि तथा वनजन्यका ३ वटा उद्योगमा वैदेशिक लगानी प्रस्ताव आएको छ।
यसको कुल पूजिँ ४० अर्ब ६८ करोड ५६ लाख रहेको छ।
यी उद्योग सञ्चालनमा आए ७ हजारभन्दा बढीले रोजगारी पाउने देखिएको छ।
कति देशले गरे लगानी?
विभागको तथ्याङ्क अनुसार ६ महिनामा १५ वटा देशबाट लगानी प्रस्ताव आएको छ।
सबैभन्दा बढी चीनले १६ अर्ब ६६ करोड रूपैयाँ लगानी प्रस्ताव गरेको छ। १ सय १८ वटा उद्योगका लागि चीनले सो बराबरको लगानी प्रस्ताव गरेको हो।
दोस्रो भारतले १० वटा उद्योगका लागि ९ अर्ब ७७ करोडको लगानी प्रस्ताव गरेको छ।
बेलायती लगानीकर्ताले ४ वटा उद्योगका लागि १ अर्ब ९२ करोड रूपैयाँ लगानी प्रस्ता गरेको छ।
त्यस्तै फ्रान्स, जापान, पाकिस्तान, दक्षिण कोरिया, युएई र अमेरीकाका लगानीकर्ताबाट २/२ उद्योगका लागि लगानी प्रस्ताव आएको छ।
अष्ट्रेलिया, बङ्लादेश, चीन (हङकङ), मलेसिया र पोल्याण्डका लगानीकर्ताबाट एउटा उद्योगका लागि लगानी प्रस्ताव आएको छ।