कोरोना संक्रमणको जोखिम बढेपछि देश विदेशका यात्रा अवरुद्ध भएका छन्। सरकारले पनि अनावस्यक यात्रा नगर्न सुझाव दिएको छ।
विदेशमामात्र होइन स्वदेशमै पनि जहाजमा यात्रा गर्ने तयारीमा भएकाले सामन्य सतर्कता अपनाउनु पर्ने छ। यदि तपाइले सतर्कता अपनाउनु भएन भने विमानस्थलसम्म जाने दु:खमात्र हुने छ।
आन्तरिक उडान गर्ने एयरलाइन्सहरुले यात्रा गर्ने प्रत्येक यात्रुहरुलाई तापक्रम नापेरमात्र जहाज चढाउँदै आएका छन्।
त्यस्तो परीक्षणको समयमा यदि कुनै पनि यात्रुको तापक्रम १००.४ डिग्री सेल्सियस बढी तापक्रम भएमा जहाजबाट अफलोड गरिदिन्छ। अर्थात् यात्रुमात्र होइन यात्रुसँगै भएका साथीलाई पनि अफलोड गर्ने गरेका छन्।
विश्व स्वास्थ्य संगठनको सिफारिअनुसार एयरलाइन्सले उक्त काम गर्दै आएको बताएका छन्।
बुद्ध एयरका निर्देशक रुपेश जोशीले यात्रुहरु आफैले जहाज चढ्न आउनुअघि आफै तापक्रम नापेर सतर्कता अनपाउन आग्रह गरे।
'सतर्कता हामी सबैले अपनाउनुपर्छ। त्यहीअनुसार हामीले यस्तो गरिरहेका छौ। हाम्रो चाहना सम्भव भएसम्म यात्रुहरु आफैले पनि तापमान लिएर ठिक छु भनेर आएमा सजिलो हुन्छ' उनले भने।
बुद्ध एयरले आजमात्रै तीनजना यात्रुलाई अफलोड गरेको छ। उसले काठमाडौंबाट सिमरा जाने एकजनामा तापमान उच्च देखिएपछि उनीसँगैका दुईजना साथीलाई पनि अफलोड गरेको जानकारी गराएको छ।