केही दिनअघिसम्म काठमाडौंबाट जहाजमा नेपालभित्रै यात्रा गर्न करिब गाडीको जत्तिकै भाडा थियो।
जहाजको भाडा यति सस्तो भएको थियो कि काठमाडौंबाट नेपालगञ्जसम्मको भाडा २५ सय रुपैयाँ थियो। तर बिहीबारदेखि त्यही नेपालगञ्जको भाडा १० हजार पुग्यो। शुक्रबार बिहान त आजका लागि त टिकट नै सकियो।
नेपालगञ्जमात्र होइन काठमाडौंबाट सिधा उडान हुने अधिकांश सहरको हवाइ भाडा बढेको छ। यात्रुको संख्या बढेपछि सरकारले निर्धारण गरेको भाडाको उच्च बिन्दु नजिक भाडादर पुगेको छ।
एयरलाइन्सले काठमाडौंबाहिर जानेको संख्या अचानक बढेपछि कतिपय रूटमा दशैं-तिहारकै झल्को आइरहेको बताएका छन्।
जस्तो नेपालगञ्जका लागि ९ हजार ८५० रुपैयाँ निर्धारण गरिएको छ। यो भाडा सरकारले स्वीकृत गरेको हो।
एयरलाइन्सले नेपालगञ्जका लागि यो भन्दा बढी दरमा भाडा लिन पाउँदैनन्। तर यो भन्दा तल प्रतिस्पर्धाका आधारमा भाडा लिन्छन्। जहाजका सिट भरिंदै गए भने भाडा महंगो हुँदै जान्छ भने खाली नै रहने अवस्था आए भाडा घट्दै जान्छ।
पछिल्ला २ दिनमा काठमाडौंबाट बाहिर जानेहरुको संख्या बढेको र माग पनि बढेकाले भाडा उच्च बिन्दुमा पुगेको श्री एयरलाइन्सका निर्देशक अनिल मानन्धरले जानकारी दिए।
आजका दिनमा काठमाडौंबाट उडान हुने मुख्य सहरको भाडा उच्च बिन्दुमा छ। काठमाडौं आउने भने न्यून बिन्दुमा छ।