नेपाल सरकारले चैत ९ गते राति ११ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने घोषणा गरे पनि केही विदेशी एयरलाइन्सको काठमाडौं उडान भने जारी रहेको छ।
कतारको कतार एयरवेज, संयुक्त अरब इमिरेट्सको इतिहाद एयरवेज र दक्षिण कोरियाको कोरियन एयरको उडान जारी रहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार यी तीन एयरलाइन्सको उडान अहिले पनि भइरहेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भने अन्तर्राष्ट्रिय उडान पूर्ण बन्द नभएको प्रष्ट पारेको छ।
विदेशबाट खाली जहाज आएर नेपालबाट यात्रु लिनका लागि जहाज आउन पाउने र त्यसका लागि एयरलाइन्सहरूले अनुमति लिनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
'हामीले सूचना नै निकालेर भनेका छौं कि आपतकालीन उडान, उद्धार उडान तथा विशेष उडान गर्न पाइन्छ। त्यसरी आउने जहाजले एकजना पनि यात्रु बोक्न पाउँदैनन्। अहिले भइरहेका उडानहरू त्यस्तै हुन्,' पोखरेलले सेतोपाटीसँग भने।
उनका अनुसार अहिले भइरहेका कतार, इतिहाद तथा कोरियन एयरका जहाजले विदेशबाट आउँदा खाली आउछन् र यहाँ भएका यात्रु लिएर गएका छन्।