मंगलबारदेखि सरकारले 'लकडाउन' गरेपछि बजार पसल बन्द भएका थिए। पहिलो दिन दैनिक उपभोग्य वस्तुको आपूर्ति हुने पसल तथा स्टोर नै बन्द भएपछि गृहमन्त्रालयले मंगलबार बेलुका नै सूचना जारी गरेर केही पसल खुला गर्न आग्रह गरेको थियो।
सरकारको उक्त सूचनापछि काठमाडौंमा रहेका चेन स्टोरहरू पनि आजदेखि खुल्ने भएका छन्।
भाटभटेनी सुपरमार्केटले उपत्यकामा चार वटा स्टोर आजदेखि खोल्ने भएको छ। भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु डी पौडेलले महाराजगञ्ज, टंगाल, पाटन र भक्तपुरको ठिमीमा रहेको स्टोर आजदेखि खुल्ने जानकारी दिए।
भाटभटेनीका काठमाडौं बाहिर पनि चार ठाउँमा खुला हुनेछन्।
सेलवेज र सेल्सबेरीका पनि आजदेखि केही शाखा खुल्नेछन्। सेलवेजका प्रबन्धक अधिकृत भुवन अधिकारीका अनुसार सेल्सवेरीका महाराजगञ्ज, सातदोबाटो र सितापाइला आउटलेट खुल्ने छन्।
त्यस्तै, पुल्चोकको सेलवेज पनि आजैदेखि खुल्ने उनले जानकारी दिए।
उनका अनुसर अहिले जिल्ला प्रशासन कार्यालयमा गाडी चलाउने पास लिने काम भइरहेको र त्यसलगत्तै कर्मचारी आएर खोल्ने छन्। स्टोर खुलेपछि त्यसको सुरक्षा व्यवस्था मिलाइने उनले जानकारी दिए।
बिगमार्ट लगायतका अन्य चेन स्टोर पनि आजदेखि आंशिक खुला हुनेछन्।