चैत ११ गते लकडाउन भएदेखि आज काठमाडौं विमानस्थल धेरै व्यस्त हुने भएको छ। नेपालभित्रकै उद्दार र विदेशी नागरिकलाई नेपालबाट लिनका लागि आज दर्जन उडान हुने भएका छन्।
सरकारले सबै हवाई उडान निषेध गरेको अहिलेको अवस्थामा उद्दारका लागि विशेष उडान हुने भएका हुन्।
नेपालका पहाडी तथा हिमाली क्षेत्रमा रहेका पर्यटकलाई उद्दार गरी काठमाडौं ल्याउनका लागि पोखरा तथा लुक्लामा उडान हुने छन्। त्यस्तै नेपालमा रहेका युरोपेली नागरिकलाई लिनका लागि सम्बन्धित मुलुकका दुतावासले चार्टर्ड जहाज मगमाएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अहिलेसम्मको अवस्थामा आज काठमाडौंमा १६ उडान हुने छन्।
'आजका लागि लुक्लालमा ९ उडानका अनुमति माग गरिएका छन्। नेपाल एयरलाइन्सले ५,तार एयरले ३ र समिट एयरले १ उडानका लागि अनुमति माग गरेका छन्। त्यस्तै युरोपेली नागरिक लिनका लागि कतारका दुई जहाज काठमाडौ आउँदै छन्' उनले भने।
त्यस्तै पोखराका लागि आजै ३ उडान हुने छन्। त्यस्तै नेपाल एयरलाइन्सको जहाज नेपालगञ्ज पनि जाँदै छ। कोरोना भाइरसको परीक्षण नमुना संकलन गर्नका लागि नेपाल एयरलाइन्सको जहाज नेपालगञ्ज जान लागेको हो।
अन्नपूर्ण क्षेत्र तथा सगरमाथा क्षेत्रमा धेरै विदेशी पर्यटक अलपत्र परेका छन्। नेपालमा रहेका सम्बन्धित देशका दुतावासहरुले आफ्ना नागरिक उद्धारका लागि चार्टर्ट उडान गराइरहेका छन्।
लुक्लामा विदेशीसँगै स्वदेशी गाइड तथा पोर्टरहरु पनि अलपत्र परेका छन्।