कोरोना भाइरस फैलन नदिन सरकारले देशभर लकडाउन गरेको छ। लकडाउनले अधिकांश औद्योगिक क्षेत्र बन्द भएका छन्।
लकडाउन सुरु भएपछि औद्योगिक क्षेत्रभित्रका अधिकांश उद्योग बन्द भएका हुन्। बिहीबारसम्म औद्योगिक क्षेत्रभित्रका ९५ प्रतिशत उद्योग बन्द भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलाले बताए।
हाल बालाजु, पाटन, भक्तपुर, राजविराज, धरान, हेटौंडा, बुटवल, पोखरा, नेपालगञ्ज र सुर्खेत गरेर १० वटा औद्योगिक क्षेत्र सञ्चालनमा छन्। ती औद्योगिक क्षेत्रमा हजारभन्दा बढी उद्योग छन्।
‘औद्योगिक क्षेत्रभित्र रहेका अत्यावश्यक खाद्यान्न, पानी, अक्सिजन, ग्यास, डेरी, पशु आाहार लगायतका उद्योग मात्र सञ्चालनमा रहेको छ,’ महाप्रबन्धक सिटौलाले भने।
तेस्रो मुलुकबाट आयात हुने कच्चा पदार्थ र माग घटेका कारण उद्योग सञ्चालनमा कठिनाइ भएको छ।
सञ्चालन भइरहेका उद्योगमा कार्यरत मजदुरका लागि कोरोनाबाट बच्न र उत्पादनमा कुनै प्रभाव नपार्न आवश्यक सुरक्षा अपनाइएको छ।
मजदुरका लागि मास्क, ग्लोभ्स, स्यानिटाइजर र ज्वरो मापनको समेत व्यवस्था गरिएको छ।