सरकारले लकडाउन घोषणा गरेको करिब २ साता पुरा भएको छ। सोमबार सरकारले थप एक हप्ताका लागि लकडाउन लम्ब्याएको छ।
यो सँगै सरकारले जनशिक्षा सामाग्री, ठूला विकास निमार्ण आयोजना(मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, भैरहवा र पोखरा क्षेत्रीय विमानस्थल), चिनी, चिया, पशुपंक्षीको दानालगायतका उद्योग सञ्चालन गर्न दिने भएको छ।
यस्ता उद्योग सञ्चालन गर्दा निश्चित मापदण्ड पुरा गर्नुपर्ने उद्योग सचिव चन्द्र घिमिरेले जानकारी दिए। उनका अनुसार उद्योग सञ्चालन गर्दा आवासीय श्रमिकको व्यवस्था गर्नुपर्ने छ।
उद्योगमा काम गर्ने कर्मचारीलाई परिवार वा समुदायसँग घुलमिल गराउन पाइने छैन। कर्मचारीको लागि मास्क, स्यानिटाइजर, दैनिक ज्वरो मापनको व्यवस्था गर्नुपर्ने छ।
आपूर्ति व्यवस्थालाई खलबलिन नदिनका लागि सरकारले गएको साता अत्यावश्यकीय वस्तुको उद्योग सञ्चालन गर्ने निर्णय गरेको थियो।
साथै उद्योग सञ्चालकले एम्बुलेन्सको समेत व्यवस्था गर्नुपर्ने छ। खाद्यान्न, पेट्रोलियम पदार्थ, दूध, औषधि, स्वास्थ्य सुरक्षाका उद्योग पहिल्यैदेखि सञ्चालनमा थिए।