हवाई जहाज निर्माता कम्पनी बोइङले कोरोनाभाइरस महामारीका कारण गत महिनादेखि बन्द गरेको उत्पादनको काम अर्को साताबाट सुरु गर्ने घोषणा गरेको छ।
कम्पनीका प्रमुख कार्यकारीले आफ्ना कर्मचारीहरूसँग हवाइ उद्योगलाई सरकारको आर्थिक सहयोग चाहिने बताएका छन्।
'हाम्रो उद्योगलाई सरकारको सहयोगको चाहिन्छ, जुन क्रेडिट बजारमा पहुँच सुनिश्चित गर्न महत्वपूर्ण हुनेछ' बोइङका प्रमुख कार्यकारी डेभ काल्हौनले आफ्ना कर्मचारीहरुलाई लेखेको पत्रमा भनेका छन्, 'हाम्रा ग्राहकरूले फेरी प्लेन नकिन्दासम्म हाम्रो टोलीले हाम्रो व्यवसाय र वितरण प्रणालीमा तरलता प्रवाह भइराखोस् भन्नका लागि सकेजत्ति तरिका अपनाउनेछ।'
पुगेट साउन्ड एरियाका करिब २७ हजार बोइंग कामदारहरू ७४७, ७६७,७७७ र ७८७ जेट प्रोग्रामको उत्पादनमा फर्किनेछ। ७४७, ७६७ र ७७७ का कामदारहरू अप्रिल २० देखि काममा लाग्नेछन् भने ७८७ प्रोग्रामका कर्मचारीहरू अप्रिल २३ वा २४ भित्रबाट काममा लाग्नेछन्।
बोइङले विश्वभर रहेका आफ्ना २०० भन्दा बढी कर्मचारीमा कोरोना भाइरस देखिएको जनाएको छ।
यसले गर्दा उसले यसमा विशेष ध्यान दिदैं कम्पनीले हरेक सिफ्टमा अन्तराल कायम गर्ने र कामको समयमा समेत भौतिक दूरी सिर्जना गर्न भूईंमा चिन्ह लगाउने तथा साइनेज थप गर्ने बताएको छ।
वासिंगटनको कम्पनीमा काम गर्ने कर्मचारीहरूका लागि अनुहार ढाक्नलाई फेस शिल्ड उपलब्ध गराउने उसले जनाएको छ।
बोइङले आफ्ना कर्मचारीहरूलाई काममा आउनु पहिले स्वास्थ्य जाँच गर्न र विरामी भएमा घरै बस्न आग्रह गरेको छ।
साथै प्रत्येक सिफ्टमा उसले कर्मचारीको स्वास्थ्य परीक्षण गरिने जनाएको छ।